मुख्यमन्त्री थापाको गुनासो : प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र जाँदा प्रदेश सरकारलाई खबरै भएन

डिसी नेपाल
१४ भदौ २०८३ १६:४२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाबीच आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भेटवार्ता भएको छ। भेटमा मुख्य रूपमा बाढी–पहिरो प्रभावित क्षेत्रको राहत, उद्धार, तीन तहका सरकारबीचको समन्वय र दीर्घकालीन जोखिम न्यूनीकरणका विषयमा छलफल भएको हो।

भेटवार्ताका क्रममा मुख्यमन्त्री थापाले विपद्को यस घडीमा तीन तहका सरकारहरूबीच अपेक्षाकृत समन्वय हुन नसकेको बताए। समन्वय अभावकै कारण प्रदेश सरकारले आफ्नै स्रोत र तरिकाले काम गर्नुपरेको उल्लेख गर्दै उनले प्रधानमन्त्री स्वयं प्रभावित क्षेत्रको निरीक्षणमा जाँदा समेत प्रदेश सरकारलाई जानकारी नदिइएकोमा दुःख्ख व्यक्त गरे।

‘हाल तीनै तहका सरकारले कसले के काम गर्ने भन्ने अधिकार र जिम्मेवारी प्रस्ट छुट्याउन आवश्यक भइसकेको छ,’ मुख्यमन्त्री थापाले भने, ‘अहिले प्रभावित क्षेत्रमा राहत पठाउन निकै सास्ती भइरहेको छ। पठाइएका राहत सामग्रीहरू नुवाकोटको बट्टार क्षेत्रमा थुप्रिएका छन्, त्यसभन्दा माथिल्लो भेगमा ढुवानी गर्न असहज भइरहेको छ।’

जलवायु परिवर्तनको दीर्घकालीन असर बढ्दै गएकाले खोला किनारका जोखिमयुक्त बस्तीहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने र यसका लागि तीनै तहका सरकारले समन्वयकारी भूमिका खेल्नुपर्नेमा उनले जोड दिए।

सो अवसरमा रास्वपा सभापति लामिछानेले यस्तो ठूलो विपद्का बेला स्थानीय र सङ्घीय सरकारलाई जोड्ने पुलको काम प्रदेश सरकारले गर्नुपर्ने बताए। ‘विपद्को यो समयमा सबै तहका सरकार मिलेर र समन्वय गरेर अघि बढ्नुपर्छ भन्नेमा हामी पूर्ण रूपमा सचेत छौँ,’ लामिछानेले भने।

सभापति लामिछानेले प्रभावित क्षेत्रमा राहत तथा पुनर्गठनका लागि सङ्घीय सरकारका तर्फबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग र समन्वयका लागि आफ्नो पार्टीले नेतृत्वदायी पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *