एसिसी प्रिमियर कप: नेपाल आज बहराइनसँग भिड्दै, विजयी सुरुआत गर्ने लक्ष्य

डिसी नेपाल
१५ भदौ २०८३ ६:३८

काठमाडौं। तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कपअन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको बाङ्गीस्थित वाईएसडी-यूकेएम ओभल मैदानमा आयोजना हुने यो खेल बिहान ७:१५ बजेदेखि सुरु हुनेछ।

एकदिवसीय क्रिकेटको इतिहासमा नेपाल र बहराइन पहिलोपटक आमनेसामने हुन लागेका हुन्। नेपाली टोली प्रतियोगिताको पहिलो खेलमै बहराइनलाई हराउँदै सुखद र उत्कृष्ट सुरुआत गर्ने लक्ष्यका साथ मैदान उत्रिँदैछ।

प्रतियोगिताको नियम अनुसार समूहका शीर्ष दुई टोलीले मात्र सेमिफाइनलमा स्थान बनाउने भएकाले नेपालका लागि समूह चरणका चारै खेल निकै महत्त्वपूर्ण मानिएका छन्।

नेपाली टोलीका पूर्वक्रिकेटर शरद भेषावकरका अनुसार नेपालले कुनै पनि प्रतिद्वन्द्वीलाई कमजोर आँक्न हुँदैन। उहाँले भन्नुभयो, “एसिसी प्रिमियर कपमा सहभागी १० वटै टोली बलिया छन्। त्यसैले कुनै पनि टोलीसँगको खेललाई हल्का रूपमा लिनु हुँदैन। नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै यसपटक उपाधि जित्नेमा म पूर्ण आशावादी छु।”

प्रतियोगिताअघि नेपालले आयोजक मलेसियासँग दुईवटा अभ्यास खेल खेलेको थियो, जसमा नेपाल दुवै खेलमा विजयी भयो। पहिलो खेलमा बलियो ब्याटिङ प्रस्तुत गरेको नेपाल दोस्रो खेलमा ब्याटिङतर्फ केही कमजोर देखिए पनि उत्कृष्ट बलिङको मद्दतले मलेसियालाई २७ रनले पराजित गर्न सफल भएको थियो।

प्रतियोगिताका लागि नेपाली टोली: आसिफ शेख, अर्जुन कुमाल, देव खनाल, सन्दीप लामिछाने (कप्तान), रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, सन्दीप जोरा, ईशान पाण्डे, गुलशनकुमार झा, ललितनारायण राजवंशी, करण केसी, हेमन्त धामी र शेर मल्ल।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *