अहिले सरकारको आलोचना होइन, सुझाव दिने समय हो: पूर्वप्रधानमन्त्री नेपाल
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश संकटपूर्ण अवस्थाबाट गुज्रिरहेकाले यतिवेला सरकारको आलोचना गर्नुभन्दा आवश्यक सल्लाह र सुझाव दिनु उपयुक्त हुने बताएका छन्।
जनकपुरधाममा आयोजित एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले विषम परिस्थितिमा सरकारका कामकारबाहीप्रति आफूले निरन्तर नजर राखिरहेको र समस्या समाधानका लागि रचनात्मक सुझाव दिइरहेको स्पष्ट पारे।
नेपालका अनुसार बाढीपहिरो र विपद्का कारण हराएका नागरिकको तीव्र खोजी गर्न र भेटिएका शव निकालेर आफन्तको जिम्मा लगाउन सरकारको ध्यानाकर्षण गराइएको छ।
भारततर्फसमेत बगेर शवहरू भेटिएका खबर आएकाले त्यसतर्फ विशेष ध्यान दिन उनले आग्रह गरे। विपद्का वेला उद्धार, राहत वितरण र पीडितलाई सहयोग पुर्याउन आफ्नो पार्टीका तर्फबाट सरकारलाई पूर्ण सहयोग रहने प्रतिबद्धतासमेत उनले जनाए।
विपद् व्यवस्थापनका सन्दर्भमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले भविष्यमा आउन सक्ने यस्तै संकटको सामना गर्न अहिलेदेखि नै पूर्वतयारी र आवश्यक बन्दोबस्त मिलाएर राख्न सरकारलाई सुझाव दिए।
आफू प्रधानमन्त्री रहँदा जलवायु परिवर्तन र वातावरण संरक्षणको सन्देश दिन सगरमाथा क्षेत्रमा मन्त्रिपरिषद् बैठक बसेको स्मरण गराउँदै उनले प्रकृतिको संरक्षणमा सबै गम्भीर हुनुपर्नेमा जोड दिए।
यस्तै, पार्टीका नेता तथा कार्यकर्ताहरूलाई वडा तहसम्मै पुगेर विगतमा पार्टीले गरेका कामबारे सर्वसाधारणलाई जानकारी गराउन उनले निर्देशन दिए।
प्रचारप्रसारका काममा कमजोरी भएको स्वीकार गर्दै उनले अब जनतामाझ पुगेर पार्टीका उपलब्धि र कामको फेहरिस्त स्पष्ट रूपमा राख्नुपर्ने बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment