प्रधानमन्त्री राहत कोषका नाममा भइरहेको ठगीबाट कसरी बच्ने?
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली क्यूआर कोड र बैंक खाता प्रयोग गरी रकम असुल्ने तथा ठगी गर्ने घटनाहरू सार्वजनिक भएपछि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। विपद्को समयमा नागरिकले स्वेच्छाले गरेको सहयोग रकम दुरुपयोग हुनबाट जोगाउन र वित्तीय ठगीबाट सुरक्षित राख्न राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सोमबार एक सूचना जारी गर्दै सहयोग पठाउँदा ध्यान दिनुपर्ने महत्वपूर्ण विषयहरू सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार मोबाइल बैंकिङ, डिजिटल वालेट, कनेक्ट आईपीएस वा अन्य जुनसुकै माध्यमबाट रकम स्थानान्तरण गर्दा प्राप्तकर्ता वा खातावालाको नाम रहेको अनिवार्य यकिन गरेर मात्र रकम पठाउनुपर्छ। सहयोग रकम जम्मा गर्नका लागि नेपाल राष्ट्र बैंक, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वा अर्थ मन्त्रालयको आधिकारिक वेबसाइटमा राखिएका बैंक खाता विवरणहरूको मात्र प्रयोग गर्न आग्रह गरिएको छ।
यसैगरी सामाजिक सञ्जाल, इमेल वा म्यासेजिङ एपहरूमा प्राप्त हुने अनधिकृत क्यूआर कोडहरू स्क्यान नगर्न र रकम पठाउन मद्दत गर्ने बहानामा कसैले मागेमा आफ्नो ओटीपी, पिन वा पासवर्ड जस्ता संवेदनशील बैंकिङ विवरणहरू कसैलाई नदिन राष्ट्र बैंकले स्पष्ट पारेको छ। भुक्तानी कारोबारका लागि सम्बन्धित सेवा प्रदायकको आधिकारिक एप्लिकेशन मात्र प्रयोग गर्न भनिएको छ।
यदि कोही व्यक्ति यस्तो प्रकारको वित्तीय ठगीमा परेको शंका लागेमा वा ठगीमा परिहालेमा तत्काल सम्बन्धित बैंक तथा वित्तीय संस्था, नेपाल प्रहरीको साइबर ब्यूरो वा नेपाल राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण एकाइमा जानकारी गराउनसमेत राष्ट्र बैंकले अनुरोध गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment