बाढीमा बेपत्ता छोराको खोजीमा जान गाडी भाडा नभएपछि वडाध्यक्षद्वारा १५ हजार सहयोग

डिसी नेपाल
१६ भदौ २०८३ १४:२७

तुलसीपुर (दाङ)। रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि बेपत्ता भएका छोराको खोजीका लागि जाने गाडी भाडासमेत नभएपछि तुलसीपुरका एक पीडित पितालाई वडा कार्यालयले आर्थिक सहयोग गरेको छ।

तुलसीपुर उपमहानगरपालिका–११ का हरिबहादुर शाहले छोराको खोजीमा जान आर्थिक अभाव भएको भन्दै वडा कार्यालयमा सहयोगका लागि निवेदन दिएपछि वडाध्यक्ष मानबहादुर रावतले व्यक्तिगत तथा वडाको तर्फबाट १५ हजार रुपैयाँ सहयोग उपलब्ध गराएका हुन्। रकम पाएलगत्तै शाह बेपत्ता छोराको खोजीका लागि रसुवातर्फ प्रस्थान गरेका छन्।

हरिबहादुरका छोरा जनक शाह रसुवामा जेसीबी चालकका रूपमा कार्यरत थिए। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र पहिरोपछि उनी निरन्तर सम्पर्कविहीन रहेका छन्।

लामो समयसम्म छोराको कुनै अत्तोपत्तो नपाएपछि रसुवा पुगेर खोजी गर्ने इच्छा भए पनि आर्थिक विपन्नताका कारण गाडी भाडासमेत नहुँदा परिवार समस्यामा परेको थियो।

वडाध्यक्ष रावतले विपद्को यस घडीमा पीडित परिवारलाई सानो भए पनि राहत होस् भनेर सहयोग गरिएको र बेपत्ताको शीघ्र खोजीका लागि सम्बन्धित निकायहरूसँग पहल भइरहेको जानकारी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *