विनाशकारी बाढीको धक्का पर्यटनमा : अगस्टमा ८५ हजार मात्रै भित्रिए पर्यटक
काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीको प्रत्यक्ष असर नेपालको पर्यटन क्षेत्रमा देखिएको छ। सन् २०२६ को अगस्ट महिनामा नेपाल आउने अन्तर्राष्ट्रिय पर्यटकको सङ्ख्यामा गिरावट आएको हो।
नेपाल पर्यटन बोर्डका अनुसार अगस्ट महिनामा ८५ हजार ४४४ जना अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिएका छन्। यो अघिल्लो वर्ष (सन् २०२५) को सोही महिनाको तुलनामा ३.६ प्रतिशत अर्थात् ३ हजार ३३६ ले कम हो। सन् २०२५ को अगस्टमा ८८ हजार ६८० पर्यटक नेपाल आएका थिए।
यस वर्ष अगस्टको अन्तिम साता (२६ तारिख) रसुवागढी नाका हुँदै भित्रिएको बाढीले रसुवा, नुवाकोट, धादिङसहित नदी प्रणाली आसपासका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो।
बाढीका कारण कैलाश मानसरोवर र गोसाइँकुण्ड यात्रामा निस्किएका आन्तरिक तथा बाह्य पर्यटक प्रभावित भएका थिए। विपद्लगत्तै अमेरिकासहित केही मुलुकले ट्राभल एडभाइजरी जारी गर्दै नेपाल भ्रमणमा सचेत गराएपछि पर्यटक आगमन थप प्रभावित बनेको हो।
कुन देशबाट कति आए ?
अगस्टमा सबैभन्दा बढी पर्यटक भारतबाट २६ हजार ३७३ जना (३०.८७ प्रतिशत) आएका छन्। दोस्रो स्थानमा रहेको चीनबाट १० हजार ३०४ जना पर्यटक नेपाल भित्रिएका छन्, जुन गत वर्षको अगस्ट (७,५३३) को तुलनामा ३६.७८ प्रतिशतको वृद्धि हो।
त्यस्तै, श्रीलङ्काबाट ८ हजार ७१० (४६.२४ प्रतिशत वृद्धि), अमेरिकाबाट ६ हजार २९३, बङ्गलादेशबाट ४ हजार ४८७ र बेलायतबाट ३ हजार ४७६ जना पर्यटक आएका छन्।
क्षेत्रगत रूपमा दक्षिण एसियाली (सार्क) मुलुकहरूबाट सबैभन्दा बढी ४१ हजार ४२२ पर्यटक आएका छन्। अन्य एसियाली मुलुकबाट १८ हजार २७५, युरोपबाट १० हजार ८७५, अमेरिकी मुलुकहरूबाट ७ हजार ४७३, ओसियानिया क्षेत्रबाट २ हजार ५२९, मध्यपूर्वबाट १ हजार १० र अफ्रिकाबाट ३३८ जना पर्यटक नेपाल आइपुगेका छन्।
समग्र आगमन घटे पनि केही प्रमुख बजारबाट भने उल्लेख्य वृद्धि देखिएको छ। रुसबाट ७६९ (५१.३८% वृद्धि), युक्रेनबाट २१६ (८३.०५ प्रतिशत वृद्धि), भुटानबाट १ हजार २८८ (४९.२५ प्रतिशत वृद्धि) र कम्बोडियाबाट ६८ जना पर्यटक आएका छन्। यस्तै, मलेसियाबाट १ हजार ६१८ र थाइल्यान्डबाट ६८१ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment