चिनियाँ जलस्रोत मन्त्रालयको चेतावनी- हिमचट्टान अझै भत्किने जोखिममा, तल्लो तटीय क्षेत्रमा खतरा कायमै
काठमाडौं । नेपालको छोचेन खोलास्थित इम्प्याक्ट क्रेटर (प्रभाव क्षेत्र वा खाडल) वरपर रहेका हिमचट्टानहरू अझै पनि भत्किने जोखिममा रहेको चिनियाँ जलस्रोत मन्त्रालयले जनाएको छ। यसले तल्लो तटीय क्षेत्रमा थप सम्भावित खतरा निम्त्याउन सक्ने चेतावनी मन्त्रालयले दिएको छ।
चिनियाँ सरकारी सञ्चारमाध्यम ‘सीसीटीभी न्युज’ले जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै मङ्गलबार यस्तो विवरण सार्वजनिक गरेको हो।
सीसीटीभीका अनुसार, चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित ग्यिरोङ (केरुङ) काउन्टीमा आएको लेदोसहितको बाढीको विपद्सँग जोडिएका सम्पूर्ण जोखिमहरूको निरन्तर मूल्याङ्कन गर्न मन्त्रालयले अनुगमन तथा परामर्शलाई तीव्रता दिएको छ।
रिमोट-सेन्सिङ तस्वीरहरूको पछिल्लो तुलनात्मक विश्लेषणअनुसार ग्यिरोङ साङ्पो नदी बेसिनमा यसअघि पहिचान गरिएका १४ वटा हिमतालहरूको जलसतहमा भने कुनै उल्लेखनीय परिवर्तन देखिएको छैन। ती तालहरू हाल समग्रमा स्थिर अवस्थामै रहेका छन्।
मङ्गलबार बिहान (नेपाली समय ५:४५ बजे) खिचिएको ड्रोन तस्वीरअनुसार छोचेन खोलाको खाडलमा जम्मा भएको पानी धेरैजसो बगेर निकास भइसकेको छ र तल्लो क्षेत्रमा नदीको बहाव हाल सामान्य छ। यद्यपि, सो क्रेटर वरपर अझै पनि हिमनदी वा हिमखण्डहरू भत्किने जोखिम कायमै रहेकाले उच्च सतर्कता अपनाउनुपर्ने रिपोर्टमा उल्लेख छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment