बलिउड अभिनेता सोनु सुद बाढीप्रभावित क्षेत्र पुगे

डिसी नेपाल
१७ भदौ २०८३ १०:५०

काठमाडौँ। बलिउडका चर्चित अभिनेता तथा समाजसेवी सोनु सुद बाढी तथा पहिरो प्रभावित क्षेत्र पुगेका छन् । बाढीपहिरो प्रभावित नागरिकहरूको प्रत्यक्ष सहयोगका लागि मंगलबार नेपाल आइपुगेका उनी बुधबार प्रभावित क्षेत्र पुगेका हुन् ।

आफ्नो संस्था ‘सुद च्यारिटी फाउन्डेसन’ मार्फत उनी राहत सामग्रीसहित काठमाडौँ ओर्लिएका हुन्। अभिनेता सुदले भारतबाट ठूलो परिमाणमा कम्बल, खाद्यान्न तथा अन्य अत्यावश्यक सामाग्रीहरू ल्याएका छन्। उनी प्रभावित क्षेत्र नुवाकोट तथा रसुवामा राहत सामग्री वितरण र प्रभावितहरूसँग भेटघाटका लागि पुगेका हुन् ।

काठमाडौँमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सुदले तत्कालको आपत्कालीन राहतमा मात्र सीमित नरही आगामी महिनाहरूमा पनि प्रभावित क्षेत्रका नागरिकहरूको जीवन सामान्य अवस्थामा नफर्किएसम्म सहयोग निरन्तर जारी राख्ने बताएका छन्।

‘हामी बाढीपीडितहरूलाई भेट्न र उहाँहरूको जीवनलाई पुनः सामान्य बनाउने प्रयासमा सहयोग गर्न यहाँ आएका हौँ। विपद्को यो कठिन समयमा नेपाली नागरिकहरू एक्लै छैनन्,’ उनले भने।

सीमा क्षेत्र र ढुवानीमा केही चुनौती रहे तापनि सुदको टोलीले स्थानीय प्रशासन र सङ्घ-संस्थाहरूसँग समन्वय गरी राहत सामग्री नपुगेका स्थानहरूमा सामग्री पुर्‍याउने कार्यलाई तीव्रता दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *