नागढुंगा-नौबिसे सडक खण्डको पातले वनमा सडक भासियो, सुरुङमार्गबाट अन्य गाडी पठाउने तयारी
धादिङ। नागढुंगा-नौबिसे सडक खण्ड अन्तर्गत नागढुंगा नजिकै पातले वन क्षेत्रमा सडक भासिएको छ। सडक भासिएपछि उक्त खण्डमा हाल सवारी साधनहरू एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेका छन्।
धादिङ सडक विभागका अनुसार सडक भासिएका कारण हाल सो रुटमा पेट्रोलियम पदार्थ बोकेका गाडीहरूलाई मात्र चल्न दिइएको छ।
ट्रोलियम पदार्थ बोकेका बुलेट र ट्याङ्कर बाहेक सोही रुट भएर आउने अन्य सवारी साधनहरूलाई भने नागढुंगा सुरुङमार्गबाट पठाउने तयारी भइरहेको छ।
सडकको पर्खाल (वाल) धेरै पुरानो भएकाले भत्किएर सडक भासिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। सडक विभागका इन्जिनियर अर्जुन प्रसाद अर्यालका अनुसार प्राविधिक टोलीले अध्ययन गरेपछि मात्र वास्तविक कारण पत्ता लाग्नेछ।
सडकको अवस्था निरीक्षण तथा मर्मतका लागि सडक विभागको प्राविधिक टोली घटनास्थलतर्फ गइसकेको छ। सडक एकतर्फी मात्र खुला रहेकाले उक्त खण्डमा यात्रा गर्दा सजगता अपनाउन र ट्राफिक नियमको पालना गर्न आग्रह गरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment