त्रिशूली-भोटेकोशी करिडोरमा खोज र उद्धार जारी: सुरुङभित्र भारत, चीन र कोरियाली टोली खटिए
काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि नदी किनारका जलविद्युत् आयोजनाका सुरुङमा फसेका नागरिकको खोजी तथा शव पहिचानका लागि विभिन्न देशका विशेषज्ञ टोलीहरू नेपाली सुरक्षा निकायसँग मिलेर चौबीसै घण्टा खटिएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार रसुवा, नुवाकोट र धादिङ क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीसँगै विदेशी विशेषज्ञहरूले खोज, उद्धार र डिएनए प्रोफाइलिङलाई तीव्रता दिएका छन्।
सुरुङभित्र ठूला ढुङ्गा र बाक्लो हिलो भरिएकाले खोजी कार्य अत्यन्तै जटिल बनेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार भारतीय टोली लाङ्टाङ र चिलिमे क्षेत्रका जलविद्युत् सुरुङमा खटिएर बाटो खोल्ने काममा संलग्न छ भने चिनियाँ टोलीले अपर त्रिशूली-३ ‘ए’ को सुरुङको केही भाग खोलिसकेको छ।
त्यसैगरी कोरियाली टोलीले अपर त्रिशूली-१ को सुरुङमा उद्धार कार्य गरिरहेको छ र थप उच्च प्रविधिसहितको लजिस्टिक्स भित्र्याउने क्रममा छ।
शवहरूको वैज्ञानिक पहिचानका लागि नेपाल प्रहरी अस्पताल र नास्टमा डिएनए परीक्षण भइरहेको छ। यस प्रक्रियालाई द्रुत बनाउन भारतको १९ सदस्यीय फोरेन्सिक टोली र चीनको ५ सदस्यीय विशेष टोली नमुना प्रशोधनमा सहभागी भइसकेका छन्।
सिङ्गापुरबाट ६ सदस्यीय डिजाष्टर भिक्टिम आइडेन्टिफिकेसन टिम काठमाडौं आइपुगेको छ भने थप १३ जना उपकरणसहित आउने क्रममा छन्। कोरियाली टोली पनि उच्च क्षमताका ड्रोन र आवश्यक उपकरणसहित फोरेन्सिक तथा उद्धार कार्यमा खटिएको छ।
हालसम्म बाढीमा परी मृत्यु भएका १ हजार ११४ जनाको शव फेला परेको छ भने ३ हजार ९०० जना अझै बेपत्ता छन्। सुरक्षा निकायले हालसम्म ११ हजार ९९३ जनाको सफल उद्धार गरेको छ। उद्धार गरिएकामध्ये ३०० भन्दा बढी विदेशी नागरिक रहेका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार ३४ देशका करिब ५९० जना विदेशी नागरिक र चिनियाँ सीमातर्फ करिब १०० जना नेपाली नागरिक अझै बेपत्ता छन्। नेपाल टेलिकमले पनि प्रभावित क्षेत्रका आफ्ना सबै नेटवर्क पुनः सञ्चालनमा ल्याइसकेकाले खोज तथा राहत समन्वयमा थप सहजता मिलेको छ।
विपद्का बेला कैलाश मानसरोवर यात्रामा रहेका ३ हजार तीर्थयात्रीमध्ये २ हजार ५०० जना हिल्सा र तातोपानी हुँदै नेपाल फर्किसकेका छन्। बाँकीलाई ल्हासाबाट हवाईमार्ग तथा अन्य नाकाबाट फर्काउन सहजीकरण भइरहेको छ।
यस्तै केरुङमा रहेका १ हजार ५०० नेपाली नागरिक र १७६ वटा नेपाली ट्रक-कन्टेनरलाई सीमा नाकामार्फत पुनःरुट निर्धारण गरी नेपाल ल्याउन चिनियाँ अधिकारीहरूसँग कूटनीतिक समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment