तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित पाँच जनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सरकारी कागजात सच्याउने, गलत लिखत तयार पार्ने तथा गैरकानुनी लाभ वा हानि पुर्याएर भ्रष्टाचार गरेको अभियोगमा आयोगले उनीहरूविरुद्ध आरोपपत्र दायर गरेको हो।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार तत्कालीन प्रमुख मालपोत अधिकृत आचार्य, तत्कालीन नायब सुब्बाहरू लक्ष्मणप्रसाद न्यौपाने र अजितकुमार साहनी (चाई), तत्कालीन खरिदार मेघबहादुर भुजेल मगर तथा जग्गाधनी पर्वतराजकान्त मिश्रविरुद्ध मुद्दा दर्ता गरिएको छ।
उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कसुर गरेको ठहर गर्दै कुल चार करोड ५३ लाख ४१ हजार ८०० बिगो कायम गरिएको छ। आयोगले उनीहरूबाट बिगोबमोजिम जरिवाना र कैद सजायको मागदाबी गर्दै विशेष अदालतमा आरोपपत्र पेस गरेको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment