रसुवा, नुवाकोट र धादिङमा आज मध्यम वर्षाको सम्भावना, राति एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने

डिसी नेपाल
१८ भदौ २०८३ ८:५२

काठमाडौँ। भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा आज मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले ती क्षेत्रमा भारी वर्षाको सम्भावना भने न्यून रहेको जनाएको छ।

विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज दिउँसो रसुवा, नुवाकोट र धादिङका केही स्थानमा मध्यम वर्षा हुनसक्ने भए पनि भारी वर्षाको सम्भावना कम छ। यद्यपि रातिको समयमा भने एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने उनले जानकारी दिए।

उनका अनुसार पछिल्लो समय मनसुन मध्यमदेखि पश्चिमी क्षेत्रमा बढी सक्रिय रहेकाले आगामी तीन दिनसम्म मौसममा उल्लेख्य सुधार आउने सम्भावना छैन।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वतर्फ सरदर स्थान आसपास रहेको विभागले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसमी बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा वर्षाका कारण थप जोखिम निम्तिन सक्ने भएकाले विभागले नदी तथा खोलानालामा जलसतह बढ्नसक्ने भन्दै स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। विशेषगरी बाढी, पहिरो तथा नदी आसपासका क्षेत्रमा रहेका नागरिकलाई मौसमको अवस्था हेरेर सुरक्षित रहन विभागले अनुरोध गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *