भोटेकोशी बाढी: शहादत प्राप्त जवान कुँवरको परिवारलाई भेट्न घरमै पुगे सशस्त्र प्रहरी प्रमुख पौडेल

डिसी नेपाल
१८ भदौ २०८३ १२:४७

काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी कर्तव्य पालनाका क्रममा वीरगति प्राप्त गरेका सशस्त्र प्रहरी जवान साजन कुँवरप्रति सशस्त्र प्रहरी बल, नेपालले उच्च सम्मानसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।

गत भाद्र १० गते विपद्को घडीमा नागरिकको जिउधन रक्षाका लागि अग्रपङ्क्तिमा खटिएका बेला जवान कुँवरलाई बाढीले बगाएको थियो। सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले नुवाकोटको लिखु गाउँपालिका-१, बरफेदीस्थित स्वर्गीय कुँवरको निवासमै पुगेर शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन्।

परिवारजनसँगको भेटमा महानिरीक्षक पौडेलले विपद्को कठिन परिस्थितिमा पनि अविचलित भई संगठनले सुम्पेको जिम्मेवारी निर्वाह गर्ने क्रममा जवान कुँवरले देखाएको अभूतपूर्व साहस र बलिदानप्रति सशस्त्र प्रहरी सधैँ ऋणी रहने बताए।

उनले शोकसन्तप्त परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दै संगठन सधैं परिवारको अभिभावक बनेर साथमा रहने प्रतिबद्धता जनाए।

सोही क्रममा महानिरीक्षक पौडेलले सोही बाढीमा परी बेपत्ता हुनुभएका सशस्त्र प्रहरी सहायक हवल्दार आशिष पौडेलको परिवारसँग पनि भेट गरी सहानुभूति प्रकट गरेका छन्।

बेपत्ता सहायक हवल्दार पौडेलसहित बाढीमा हराइरहेका अन्य सशस्त्र प्रहरी कर्मचारी तथा आम नागरिकहरूको खोजी एवम् उद्धार कार्यलाई सङ्गठनले उच्च प्राथमिकतामा राखेको उनले स्पष्ट पारे।

जोखिमपूर्ण मौसम र जटिल भौगोलिक अवस्थाका बाबजुद उद्धार टोलीहरू निरन्तर परिचालित रहेको र आफ्ना राष्ट्रसेवकहरूको खोजीमा संगठन अहोरात्र खटिरहने उनले दृढता व्यक्त गरे।

नागरिकको सुरक्षा र सेवामा समर्पित रहँदा आफ्ना वीर सदस्यलाई गुमाउनुपर्दा सिङ्गो सशस्त्र प्रहरी परिवार स्तब्ध बनेको छ। यद्यपि, राष्ट्र र जनताप्रतिको आफ्नो अविचलित कर्तव्यबोधका साथ सङ्गठन विपद् व्यवस्थापन र खोजी कार्यमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *