सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी, विचाराधीन मुद्दाका कागजात सुरक्षित
काठमाडौँ। सर्वोच्च अदालतको निर्माणाधीन नयाँ भवनमा रहेको अभिलेख शाखामा गतराति आगलागी भएको छ। आगलागीबाट प्रयोगविहीन अवस्थामा राखिएका पुराना कागजात र नेपाल कानून पत्रिकाका कपीहरू जलेर नष्ट भएका छन्।
रातको समयमा आगलागी भएको जानकारी पाउनेबित्तिकै सुरक्षाकर्मी तथा अदालतका कर्मचारीहरूले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए।
नयाँ बनेको भवनको अभिलेख शाखामा रहेको बिजुलीको प्लग सर्ट भएर (सर्ट सर्किट भई) आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार आगोले विचाराधीन अवस्थामा रहेका कुनै पनि मुद्दाका मिसिल तथा कागजातमा क्षति पुर्याएको छैन।
आगो अभिलेख शाखा रहेको कोठामा मात्र सीमित रहेकाले अदालतका अन्य शाखा तथा इजलासहरूमा कुनै असर परेको छैन।
प्रयोगविहीन कागजात मात्रै प्रभावित: फैसला भइसकेका पुराना मुद्दाका काम नलाग्ने प्रकृतिका फाइल, पुराना कागजात र नेपाल कानून पत्रिकाका कपीहरू राखिएको कोठामा मात्र आगजनी भएकाले महत्त्वपूर्ण अभिलेखहरू सुरक्षित रहेको अदालत प्रशासनले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment