चीनबाट राहत सामग्रीको तेस्रो खेप काठमाडौं आइपुग्यो, १० जना फरेन्सिक विज्ञ पनि नेपालमा

डिसी नेपाल
१८ भदौ २०८३ १६:१४

काठमाडौं । रसुवा बाढीप्रभावित क्षेत्रका लागि छिमेकी मुलुक चीनले उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको तेस्रो खेप बिहीबार काठमाडौं आइपुगेको छ।

चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको ‘वाई-२० ए’ ठूलो क्षमताको मालवाहक विमानमार्फत उक्त राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।

सोही विमानमार्फत चिनियाँ विज्ञ टोलीको चौथो खेपअन्तर्गत १० जना फरेन्सिक विज्ञहरू पनि नेपाल आइपुगेका छन्। उनीहरूले बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको पहिचान प्रक्रियामा नेपाली टोलीलाई प्राविधिक सहयोग पुर्‍याउनेछन्।

विमानस्थलमा आयोजित राहत सामग्री हस्तान्तरण तथा स्वागत कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको उपस्थिति रहेको थियो। मन्त्री पुनले नेपाल ओर्लिएका चिनियाँ फरेन्सिक विज्ञ टोलीलाई स्वागत गरेका थिए।

चीनले पठाएको तेस्रो चरणको राहत सामग्रीमा शव राख्ने फ्रिजर, महामारी रोकथाम तथा नियन्त्रणका स्वास्थ्य सामग्री र दैनिक उपभोग्य वस्तुहरू रहेका छन्। यसका साथै बाढीपछिको उद्धार तथा पुनःस्थापनाका लागि अत्यावश्यक मानिएका बेली ब्रिजहरू पनि यसै खेपमा ल्याइएको छ।

बेली ब्रिज जडानका लागि आवश्यक पर्ने विशेष उपकरणहरू भने स्थलमार्ग हुँदै नेपाल-चीन सीमास्थित लिजी-नेचुङ नाकामा आइपुगिसकेको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *