देशका धेरैजसो भू-भागमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा र हिमपातको जोखिम

डिसी नेपाल
१९ भदौ २०८३ ७:२३

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर र पूर्वमा सरदर स्थानकै आसपास अवस्थित छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली भू-भागका केही स्थान र पहाडी भू-भागका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराईका थोरै स्थानमा वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरीसमेत चल्न सक्ने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकीको हिमाली भू-भाग, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्र तथा सुदूरपश्चिमको पहाड र तराईका एक-दुई स्थानमा भारी वर्षाको जोखिम छ।

राती पनि देशभरको मौसम बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भेगका केही स्थान र कर्णाली तथा सुदूरपश्चिमका हिमाली भू-भागका थोरै स्थानमा वर्षा वा हिमपातको सम्भावना छ। देशका पहाडी भू-भागका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित मध्यम वर्षा हुनेछ।

राती पनि कोशी र बागमतीको हिमाली क्षेत्रका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *