संखुवासभाको मकालुमा गोली हानेर शिक्षकको हत्या

डिसी नेपाल
१९ भदौ २०८३ १०:२८

संखुवासभा। संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा भरुवा बन्दुकको गोली प्रहार गरी एक शिक्षकको हत्या गरिएको छ। कालिका आधारभूत विद्यालयका ३६ वर्षीय शिक्षक नरकुबिर खम्बु राईको गएराति करिब ७ बजे गोली हानेर हत्या भएको हो।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार शिक्षक राईमाथि खाना खाएर हात धुन बाहिर निस्किएको अवस्थामा विद्यालय नजिकैबाट गोली प्रहार भएको थियो।

कालिका आधारभूत विद्यालय परिसरमै बस्दै आएका शिक्षक राई खाना खाएपछि हात धुन बाहिर निस्कँदा भरुवा बन्दुक प्रहार भएको थियो। बन्दुकको आवाजलगत्तै उनी भुइँमा ढलेका थिए। गोली उनको देब्रे कोखमा लागेको छ।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक मेघराज अर्यालको नेतृत्वमा र इलाका प्रहरी कार्यालय हेदाङनागढीबाट थप प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ।

घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङनागढीबाट करिब ६ घण्टाको पैदल दूरीमा पर्ने भएकाले प्रहरी टोली पुग्दै छ।

शिक्षक राईमाथि कसले र कुन कारणले गोली प्रहार गरेको हो भन्नेबारे अझै खुल्न सकेको छैन।

जिल्ला प्रहरी कार्यालय संखुवासभाले घटनाको सूक्ष्म अनुसन्धान सुरु भइसकेको र घटनास्थल पुगेपछि थप विवरण आउने जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *