फुटबलर भरत खवास मेजरमा बढुवा, उद्धार गर्दागर्दै फिल्डमै लगाए फुली
काठमाडौँ। नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान एवम् प्रभावशाली स्ट्राइकर भरत खवास नेपाली सेनाको मेजर (सेनानी) पदमा बढुवा भएका छन्। नेपाली सेनाले उनलाई सह-सेनानी (क्याप्टेन) बाट सेनानीमा पदोन्नति गरेको हो।
भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यका लागि नुवाकोटको त्रिशूली क्षेत्रमा खटिएकै अवस्थामा उनलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। खवासले कार्यक्षेत्र (विपद् व्यवस्थापनको उद्धार मैदान) मै सेनानी पदको दर्ज्यानी चिन्ह लगाएका हुन्।
यसअघि २०७९ साउनमा सह-सेनानी (क्याप्टेन) मा बढुवा भएका ३४ वर्षीय खवासले हाल बाढीपीडितको उद्धारमा खटिएकै स्थानबाट सेनानीको जिम्मेवारी प्राप्त गरेका छन्। एन्फा एकेडेमीका उत्पादन खवासले संकटा ब्वाइज क्लबबाट युवा उमेरमा आफ्नो खेल कौशल निखारेका थिए। त्यसपछि उनले फ्रेन्ड्स क्लब र स्पोर्टिङ इलाम मेचीबाट समेत व्यावसायिक फुटबल खेलेका थिए।
नेपाल पुलिस क्लब हुँदै त्रिभुवन आर्मी क्लबमा आबद्ध भएका उनी लामो समयदेखि आर्मी टोलीका मुख्य खेलाडीका रूपमा मैदानमा सक्रिय छन्। नेपालका लागि फिफा विश्वकप छनोट, एएफसी च्यालेन्ज कप छनोट, साफ च्याम्पियनसिप र एएफसी सोलिडारिटी कपजस्ता ठूला प्रतियोगितामा राष्ट्रको प्रतिनिधित्व गरिसकेका खवास सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा तीनपटक उत्कृष्ट फरवार्ड घोषित भइसकेका खेलाडी हुन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment