लाङटाङ खोला हाइड्रोको सुरुङमा खोजतलास सकियो, उद्धार टोली फर्कियो

डिसी नेपाल
१९ भदौ २०८३ १५:५४

रसुवा। रसुवास्थित २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा सम्भावित सबै ठाउँमा खोजी गर्दा पनि थप व्यक्ति नभेटिएपछि नेपाली सेना र सशस्त्र प्रहरी बलको उद्धार टोली फर्किएको छ।

सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार सुरुङभित्र खोजीका लागि पुगेको टोलीले सम्भावित सबै क्षेत्रमा टोली परिचालन गरेर हेर्दा थप मानिस नभेटिएपछि फर्कने तयारी गरेको हो। यसअघि आयोजनाको सुरुङभित्रबाट बिहीबार दुई जनाको शव फेला पारिएको थियो।

आयोजनाका प्रवर्धक विजयमोहन भट्टराईका अनुसार बाढीले विद्युत् गृह (पावर हाउस) र कामदार बस्ने क्याम्पलगायत सतह (सर्फेस) मा रहेका सम्पूर्ण भौतिक संरचनाहरू पूर्ण रूपमा बगाएको छ।

बाढी आउनुभन्दा २-३ मिनेटअघि विद्युत् आपूर्ति (बत्ती) बन्द भएकाले सुरुङभित्र काम गरिरहेका कामदारहरू समयमै बाहिर निस्किएको हुनसक्ने आयोजना प्रवर्धकको अनुमान छ।

बाढी आएलगत्तै सुरुमै १९ जनाको सकुशल उद्धार गरिएको थियो। हालसम्म २ जनाको शव फेला परेको छ भने ३९ जना कर्मचारी तथा कामदारहरू अझै सम्पर्कविहीन (बेपत्ता) रहेका छन्।

बुधबारदेखि नेपाली सेना, सशस्त्र प्रहरी बल र आयोजनाका प्राविधिकसहित ३३ जनाको टोली सुरुङभित्रको उद्धार कार्यमा निरन्तर खटिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *