कोशीका विभिन्न सहरमा आज भव्य राधाकृष्ण रथयात्रा: विराटनगरमा ५ लाख भक्तजन आउने अनुमान
विराटनगर। श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट परम्परागत रूपमा मनाइने राधाकृष्ण रथयात्रा आज शनिबार कोशी प्रदेशका विभिन्न सहरहरूमा हर्षोल्लासका साथ निकालिँदै छ। विराटनगरसहित इटहरी, दुहबी लगायतका प्रमुख सहरहरूमा रथयात्राको सम्पूर्ण तयारी पूरा भएको छ।
विराटनगरमा यस वर्ष ५९औँ राधाकृष्ण रथयात्रा निकालिँदै छ। विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरबाट दिउँसो ३ बजे सुरु हुने यस रथयात्रामा नेपालका विभिन्न जिल्ला तथा भारतका सीमावर्ती क्षेत्रहरूबाट गरी पाँच लाखभन्दा बढी भक्तजन सहभागी हुने राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको अनुमान छ।
यसपटक धार्मिक पर्वको मौलिकता र सांस्कृतिक स्वरूपलाई जोगाउन रथयात्रामा ‘डिजे साउन्ड’ प्रयोगमा पूर्ण रोक लगाइएको छ। डिजेको साटो भजन-कीर्तन, धार्मिक झाँकी तथा परम्परागत सांस्कृतिक प्रस्तुतिहरूलाई प्राथमिकता दिइने समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिए।
राधाकृष्ण मन्दिरबाट प्रारम्भ भई तीन पैनी चोक, गोल्छा चोक, मेनरोड, ट्राफिक चोक, रोड शेष चोक, महेन्द्र चोक, बरगाछी र दुर्गा चोक हुँदै पुनः मन्दिरमै पुगेर सम्पन्न हुनेछ। करिब आठ किलोमिटर लामो यो यात्राका क्रममा ४४ स्थानमा विश्रामको व्यवस्था मिलाइएको छ।
संकलित भेटी बाढीपीडितलाई
यस वर्षको रथयात्रालाई राहत र सहयोगसँग पनि जोडिएको छ। रथयात्राका क्रममा भक्तजनबाट सङ्कलन हुने सम्पूर्ण भेटी तथा नगर परिक्रमाका क्रममा राखिने तीन वटा दान पेटिकाको रकम भोटेकोशी बाढीपीडितको सहयोगार्थ ‘प्रधानमन्त्री राहत कोष’मा जम्मा गरिने आयोजकले जनाएको छ।
उच्च सुरक्षा सतर्कता र ड्रोनबाट निगरानी
ठूलो सङ्ख्यामा श्रद्धालुहरूको उपस्थिति रहने भएकाले सुरक्षा व्यवस्थालाई कडा पारिएको छ। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार भिडभाड तथा सम्भावित अवाञ्छित गतिविधिमाथि निगरानी राख्न ड्रोन क्यामेराको प्रयोग गरिनेछ। रथयात्राका क्रममा उच्छृङ्खल तथा आपराधिक क्रियाकलाप गर्नेहरूलाई तत्काल नियन्त्रणमा लिई कडा कारबाही गरिने प्रहरीले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment