मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन

डिसी नेपाल
२० भदौ २०८३ २०:३०

गोरखा। यो वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल आरोहण गर्न २९ टोलीले अनुमति लिएका छन्। पर्यटन विभागको गत पछिल्लो तथ्याङ्कअनुसार २९ टोलीका ३४८ आरोहीले मनास्लु आरोहणका लागि अनुमति लिएका हुन्।

विभागबाट अहिलेसम्म कुल ३२ टोलीका ३६७ जना आरोहीले शरद ऋतुमा हिमाल चढ्न अनुमति लिएकामध्ये मनास्लुका लागि मात्र २९ टोलीका ३४८ आरोही रहेको विभागले जनाएको छ।

यस हिमालबाट यस सिजनका लागि जारी पर्वतारोहण अनुमतिबाट रु १५ करोड ९६ लाख २० हजार ८२८ रोयल्टी सङ्कलन भइसकेको पर्यटन विभागले जनाएको छ। त्यसमध्ये मनास्लुका आरोहीबाट मात्र रु १५ करोड ८७ लाख ५६ हजार २५० राजस्व सङ्कलन भएको छ।

गोरखाको चुमनुब्री एक, सामागाउँमा रहेको आठ हजार १६३ मिटर उचाइको मनास्लुमा केही वर्षदेखि पर्वतारोहीको आकर्षण बढ्दै गएको छ। अहिले मनास्लु हिमाल आरोहणका लागि शेर्पाहरूले क्याप निर्माण गर्ने र बाटो बनाउने काम गरिरहेको आरोही नाङ्स्याल छोदेनले बताए। आरोहीहरू भने सोमबार (सेप्टेम्बर ७) पछि मात्र बेसक्याप आउने उनले जानकारी दिए।

हाल बेसक्याप नजिकै रहेको सामागाउँ आरोही र उनीहरूका सहयोगीले खचाखच भरिएको छोदेनको भनाइ छ। मनास्लु हिमाल संसारको आठौँ र नेपालको सातौँ अग्लो हिमाल हो। यसलाई किलर माउन्टेनका रूपमा पनि चिनिन्छ।

मनास्लु हिमालको बेसक्याम्प सामागाउँबाट दुई घण्टाको पैदल दूरीमा छ। बेसक्याम्प गाउँ नजिकै रहनुले आरोहीको रोजाइमा पर्ने गर्छ। आरोहीले यहाँबाट मनास्लुको चुचुरोमा पुग्न एक सातादेखि एक महिनासम्म लगाउने गर्छन्। सन् १९५६ मा जापानी नागरिक तासी इमानुसी र ग्याल्जेन नोर्बु शेर्पाले पहिलो पटक मनास्लुको सफल आरोहण गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *