भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग

डिसी नेपाल
२० भदौ २०८३ २२:२९

बनेपा (काभ्रे) । जिल्लाका नौ स्थानीय तहसहित विभिन्न वडा, सामाजिक, सहकारी तथा निजी संस्थाले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि दुई करोड २२ लाख १३ हजार १११ सहयोग घोषणा गरेका छन्।

यसअघि सात स्थानीय तह, जिल्लाका विभिन्न वडा तथा सामाजिक, सहकारी तथा निजी संस्थाले बाढी प्रभावितका लागि राहत रकम उपलब्ध गराउने घोषणा गरेका थिए। पछिल्लो पटक नमोबुद्ध नगरपालिकाले २७ लाख ५० हजार, भुम्लु गाउँपालिकाले ३० लाख, धुलिखेल उद्योग वाणिज्य सङ्घले एक लाख एक हजार, धुलिखेल खानेपानी तथा सरसफाइ समितिले एक लाख पाँच हजार र बनेपा नगरपालिका–७ स्थित सुलभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक लाख ११ हजार १११ सहयोग गर्ने निर्णय गरेका छन्।

नमोबुद्ध नगरपालिका र भुम्लु गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेका हुन्। धुलिखेल उद्योग वाणिज्य सङ्घले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु एक लाख एक हजार सहयोग गर्ने निर्णय गरेको सङ्घका अध्यक्ष कोमलसुन्दर श्रेष्ठले जानकारी दिए।

सप्तरीः सप्तरीको बलानबिहुल गाउँपालिकाले रसुवा भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाका बाढीपीडितका लागि १५ लाख २५ हजार ५४० रूपैयाँ राहत सहयोग गरेको छ।

गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारीले आफ्नो तलब सुविधा र गाउँपालिकाको सहयोगबाट उक्त रकम सङ्कलन गरी राहत सहयोग गरेका हुन्।

विपद्का समयमा पीडित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले गाउँपालिकाको तर्फबाट उक्त रकम उपलब्ध गराएको बलानबिहुल गाउँपालिकाको अध्यक्ष खेमचन्द्र यादवले बताए। उनले भने, ‘यस्तो कठिन परिस्थितिमा गाउँपालिकाले गरेको सहयोगले विपद्मा परेका नागरिकलाई केही राहत पुग्ने अपेक्षा छ।’

गाउँपालिकाले विपद्को घडीमा मानवीय सहयोग र एकताको भावना आवश्यक रहेको भन्दै पीडितको उद्धार, राहत तथा पुनःस्थापनामा सबैपक्षले आआफ्नो क्षेत्रबाट सहयोग गर्न उनले सबै पक्षलाई आग्रह गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *