पहिरोले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध, सवारीसाधन बाटोमै रोकिए

डिसी नेपाल
२१ भदौ २०८३ ८:१३

बाजुरा। बाजुरामा अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ।

गएरातिदेखि लगातार परेको वर्षाका कारण बडीमालिका नगरपालिका–९ अन्तर्गत कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड र सुवाकाँधलगायत स्थानमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

त्यस्तै, बडीमालिका नगरपालिका–८ को राप्का र वडा नं. ६ को जडाङ्गालगायत स्थानमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार पहिरोका कारण सडकमा यातायात सञ्चालन हुन सकेको छैन।

सडक अवरुद्ध भएको जानकारी प्राप्त भएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक लक्ष्मी दत्त भट्टको कमान्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलतर्फ खटाइएको छ।

प्रहरी टोलीले बडीमालिका नगरपालिका र सडक विभागको जेसिबी प्रयोग गरी पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेको छ।

लगातार वर्षा भइरहेकाले सडकका अन्य स्थानमा समेत पहिरो खस्ने जोखिम रहेको प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएपछि साँफे–मार्तडी सडकखण्डमा आवतजावत प्रभावित भएको छ भने गन्तव्यतर्फ जाने सवारीसाधन बाटोमै रोकिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *