भोटेकोशी बाढी: ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

डिसी नेपाल
२१ भदौ २०८३ ११:०१

काठमाडौं। रसुवास्थित भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीमा परी घाइते भएकामध्ये राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत ३८ जना निको भएर घर फर्किएका छन्। बाढीमा घाइते भएका कुल ५८ जनाको उद्धार गरी काठमाडौं ल्याइएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार उद्धार गरिएकामध्ये ५० जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर भर्ना गरिएको थियो। तीमध्ये स्वास्थ्यमा सुधार आएपछि ३८ जनालाई डिस्चार्ज गरिसकिएको छ।

हाल ट्रमा सेन्टरमा १२ जना घाइतेको उपचार भइरहेको छ। अस्पताल प्रशासनका अनुसार उपचाररत बिरामीहरूको अवस्था सामान्य रहेको छ र उनीहरूलाई साधारण शय्यामा राखी उपचार प्रबन्ध मिलाइएको छ।

यसैबिच, बाढीमा परी घाइते भएका तथा बेपत्ता भएका व्यक्तिका आफन्तलाई सहज सूचना उपलब्ध गराउन नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा ‘नागरिक सहायता कक्ष’ स्थापना गरेको छ। सहायता कक्षमार्फत आफन्तहरूले बिरामीको अवस्था बुझ्ने तथा बेपत्ताको विवरण टिपाउने काम गरिरहेका छन्।

भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएकाले प्रभावित क्षेत्रमा अझै पनि खोज तथा उद्धार कार्य जारी छ। उद्धार गरिएका घाइतेको उपचार, राहत वितरण तथा बेपत्ताको खोजी कार्यलाई तीव्रताका साथ अघि बढाइएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *