कृष्णभीर अवरोधपछि बाहिर भरेर ८७ हजार ग्यास सिलिण्डर काठमाडौं भित्रिए

डिसी नेपाल
२१ भदौ २०८३ १३:०७

काठमाडौँ। पृथ्वीराजमार्गको कृष्णभीर खण्डमा गएको पहिरोका कारण सडक अवरुद्ध भई काठमाडौँ उपत्यका, धादिङ तथा काभ्रेपलाञ्चोकमा रहेका एलपी ग्यास उद्योगहरूमा ग्यास आपूर्ति प्रभावित भएपछि नेपाल आयल निगमले तराईका जिल्लाहरूबाट रिफिल गरी काठमाडौँ ल्याउने वैकल्पिक व्यवस्था मिलाएको छ।

निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै स्थिति सहज नभएसम्मका लागि बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा तथा महोत्तरी जिल्लामा अवस्थित उद्योगहरूमा सिलिन्डर रिफिल गरी वैकल्पिक मार्ग (त्रिभुवन राजपथ/बाइरोड) मार्फत काठमाडौँ ल्याई बिक्री वितरण भइरहेको जनाएको छ।

नेपाल आयल निगमका अनुसार तराईका विभिन्न १६ वटा ग्यास उद्योगहरूबाट रिफिल गरी ८७ हजार ग्यास सिलिण्डर काठमाडौँ भित्र्याइएको छ । भदौ १८ गते २४ हजार ४९४ सिलिन्डर, भदौ १९ गते ३४ हजार १३४ सिलिन्डर, भदौ २० गते २९ हजार २४९ सिलिन्डर गरी कूल ८७ हजार ८७७ सिलिन्डर काठमाडौं आएका छन् ।

निगमका अनुसार श्री ग्यास, सुगम, एभरेस्ट, साईबाबा, सगरमाथा र नेपाल ग्यास तराईस्थित सम्बन्धित उद्योगहरूबाट उल्लेख्य मात्रामा सिलिन्डर रिफिल गरी काठमाडौँ पठाइएको छ। यसबाहेक सूर्य, ओम, श्रीराम, श्रीमाया, लोकप्रिय, एच.पी., एस.टी.सी., सिद्धार्थ, हिमाल, सीताश्री र नमस्ते ग्यास उद्योगहरूले समेत वैकल्पिक व्यवस्था अनुसार निरन्तर सिलिन्डर रिफिल गरी काठमाडौँ आपूर्ति गरिरहेका छन्।

नेपाल आयल निगमले पृथ्वीराजमार्गको कृष्णभीर खण्ड नियमित सञ्चालनमा नआउँदासम्म यही प्रक्रिया अनुसार नै एल.पी. ग्यासका सिलिन्डरहरू ल्याई काठमाडौँमा बिक्री वितरण गर्ने व्यवस्थालाई निरन्तरता दिइने स्पष्ट पारेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *