बाढीका कारण सडक सञ्जाल विच्छेद भएपछि रसुवाबाट सुत्केरी र नवजात शिशुको हवाई उद्धार

डिसी नेपाल
२१ भदौ २०८३ १३:४८

काठमाडौं। रसुवाको आमाछोदिङमो गाउँपालिका-३, गत्लाङकी २९ वर्षीया फुर्पु यामो तामाङ र उनका नवजात शिशुको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याइएको छ।

गत्लाङ स्वास्थ्य चौकीमा बच्चा जन्माएपछि आमा र शिशु दुवैमा जटिल स्वास्थ्य समस्या देखिएपछि थप उपचारका लागि परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (थापाथली) ल्याइएको हो।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण आमाछोदिङमो गाउँपालिका सडक सञ्जालबाट पूर्ण रूपमा विच्छेद भएको छ। सडकमार्गबाट अस्पताल पुर्‍याउन असम्भव भएपछि सरकारले लागू गरेको विशेष कार्यविधिअनुसार उनीहरूको हवाई उद्धार गरिएको हो।

सरकारले प्राकृतिक विपदका कारण सडक अवरुद्ध भई विशेष परिस्थिति सिर्जना भएमा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती, सुत्केरी र २४ घण्टाभित्रका नवजात शिशुलाई हवाई उद्धार गर्ने व्यवस्था गरेको छ।

सोही व्यवस्थाअन्तर्गत महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा उद्धार गरिएको हो।

सफल उद्धार कार्यमा सहयोग पुर्‍याउने स्थानीय जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी तथा स्वास्थ्यकर्मीहरूलाई मन्त्रालयले धन्यवाद ज्ञापन गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *