भोटेकोशी बाढीपछि पुनर्निर्माणको अर्को पाटो: मानसिक स्वास्थ्य र मनोसामाजिक पुनस्थापना

पिताम्बर कोइराला
२१ भदौ २०८३ १४:५७

भोटेकोशीमा आएको विनाशकारी बाढीले मानिसका घर, पुल, सडक, विद्यालय, जीविकोपार्जनका आधार, व्यापार-व्यवसाय र भविष्यका सपनाहरू बगायो।

कसैले परिवारका सदस्य गुमाए भने कसैले आफन्तको खबर पाउन सकेका छैनन्। कसैले बासस्थान गुमाए त कसैले वर्षौँको मेहनतले जोडेको सम्पत्ति र रोजगारी गुमाएका छन्।

बाढीको पानी घट्दै जान्छ, अवरुद्ध सडक खुल्न थाल्छन् र उद्धार तथा राहतका काम बिस्तारै नियमित बन्छन्। भत्किएका भौतिक संरचनाको पुनर्निर्माण पनि सुरु हुन्छ, तर मानिसको मनमा आएको बाढी त्यसरी सहजै घट्दैन।

आफ्नै आँखाअगाडि घर बगेको देख्नु, परिवारका सदस्य हराउनु, आफन्तको मृत्युको खबर सुन्नु, रातभर उद्धारको प्रतीक्षामा बस्नु, मृत्युको नजिक पुगेको अनुभव गर्नु वा वर्षौँको मेहनत एकैछिनमा गुमाउनु सामान्य घटना होइनन्।

यस्ता आघातपछि डर लाग्नु, आत्तिनु, रुनु, निद्रा नलाग्नु, ठूलो आवाज सुन्दा झस्किनु, बारम्बार घटना सम्झिनु वा भविष्यप्रति असुरक्षित महसुस हुनु स्वाभाविक मानवीय प्रतिक्रिया हुन्।

यस्ता स्वाभाविक प्रतिक्रियालाई तत्कालै मानसिक रोगको नाम दिनु उचित हुँदैन। विपद्पछि अधिकांश मानिसलाई रोगको ठप्पा लगाउनुभन्दा पहिले सुरक्षा, साथ, सही सूचना र आफ्ना मानिसहरूसँगको सम्पर्क आवश्यक हुन्छ।

मनोसामाजिक तथा मानसिक स्वास्थ्यका क्षेत्रमा दुई दशकभन्दा बढी समय काम गर्दा महसुस भएको मुख्य कुरा के हो भने, विपद्पछिको सहयोगमा सबैलाई एउटै प्रकारको सेवा चाहिँदैन।

सुरक्षाबाट सुरु हुन्छ मनोसामाजिक सहयोग

विपद्पछि प्रायः कसलाई परामर्श (काउन्सिलिङ) चाहिन्छ भनेर सोध्ने गरिन्छ। तर सुरुमा सोध्नुपर्ने प्रश्न त्यो होइन। पहिलो प्रश्न त मानिसलाई अहिले सुरक्षित र स्थिर बनाउन के चाहिन्छ भन्ने हो। कसैलाई सुरक्षित आश्रय चाहिएको हुन्छ भने कसैलाई खाना, पानी वा औषधि।

कसैलाई परिवारका सदस्य कहाँ छन् भन्ने सूचना चाहिएको हुन्छ भने कसैलाई बालबालिका वा अभिभावक खोज्न सहयोग। कसैका लागि आफ्ना कुरा सुनिदिने विश्वासिलो मानिस वा परिवार र समुदायको साथ मात्र पनि पर्याप्त हुन सक्छ।

त्यसैले मनोसामाजिक तथा मानसिक स्वास्थ्य सहयोग भनेको केवल परामर्श दिनु मात्र होइन। यसको सुरुवात सुरक्षा, आधारभूत आवश्यकताको पूर्ति, परिवारसँगको पुनर्मिलन, सही सूचना र समुदायसँगको सम्बन्धबाट हुन्छ।

प्राथमिक मनोवैज्ञानिक सहयोग पनि यही मान्यतामा आधारित हुन्छ। प्रभावित व्यक्तिको अवस्था बुझ्ने, उसका कुरा सुन्ने, तत्कालका आवश्यकतामा सहयोग गर्ने र आवश्यक सेवासँग जोड्ने काम यसअन्तर्गत पर्छन्। सबै समस्या आफैँ समाधान गर्नुपर्छ भन्ने छैन; आफ्नो भूमिका र सीमा बुझेर उपयुक्त ठाउँमा पुर्‍याउनु पनि महत्त्वपूर्ण सहयोग हो।

हाम्रो समाजमा दुःख परेका बेला प्रायः “नरोऊ”, “बलियो हुनुपर्छ”, “अब सबै ठीक हुन्छ” भन्ने गरिन्छ। सद्भावका साथ भनिए पनि पीडित व्यक्तिले यस्ता शब्दबाट आफ्नो पीडा नबुझिएको महसुस गर्न सक्छन्।

त्यसको सट्टा “तपाईँलाई अहिले निकै गाह्रो भइरहेको रहेछ”, “कुरा गर्न चाहनुहुन्छ भने म सुन्छु”, “अहिले के आवश्यक छ, हामी मिलेर खोजौँ” भन्नु बढी व्यावहारिक हुन्छ।

बालबालिकाका हकमा यो झन् संवेदनशील हुन्छ। बाढीपछि उनीहरू डराउने, आमाबुबासँग टाँसिरहने, राति सुत्न डराउने वा विद्यालय जान नमान्ने हुन सक्छन्। यस्तो अवस्थामा विद्यालय पुनः सञ्चालन हुनु भनेको पढाइ सुरु हुनु मात्र होइन; बालबालिकाका लागि दैनिक दिनचर्या, साथीभाइ, शिक्षक, खेलकुद र सुरक्षित वातावरणमा फर्किने माध्यम पनि हो।

संस्कृति बुझेर मात्र मनोसामाजिक सेवा प्रभावकारी

विपद्मा मानिसको दुःख बुझ्ने र व्यक्त गर्ने तरिका एउटै हुँदैन। नेपालमा जन्मदेखि मृत्युसम्मका संस्कार, पारिवारिक संरचना, जातीय तथा सामुदायिक परम्परा, धर्म, भूगोल र स्थानीय विश्वासले दुःखलाई कसरी लिने भन्ने कुरा निर्धारण गर्छ।

कसैले दुःख खुलेर व्यक्त गर्छन् भने कसैले मौन रहेर। कसैले परिवार र समुदायका बिचमा रहेर शोक मनाउँछन्। कसैका लागि धार्मिक तथा सांस्कृतिक संस्कारले ठूलो अर्थ राख्छ भने कसैका लागि छिमेकी र समुदाय नै सबैभन्दा ठूलो सहारा हुन्छन्।

त्यसैले मनोसामाजिक तथा मानसिक स्वास्थ्य सेवा बाहिरबाट लगेर प्रभावित समुदायमाथि थोपर्ने विषय होइन। समुदायको भाषा, संस्कृति, विश्वास र जीवन पद्धति बुझेर सेवा दिनुपर्छ। तर संस्कृतिको सम्मान गर्नु भनेको हरेक अभ्यासलाई प्रश्नै नगरी स्वीकार गर्नु पनि होइन।

यदि कुनै अभ्यासले व्यक्तिको सुरक्षा, मर्यादा वा अधिकारमा गम्भीर असर पार्छ भने त्यसलाई मानव अधिकार र सुरक्षाका दृष्टिले सम्बोधन गर्नुपर्छ। सकारात्मक सांस्कृतिक अभ्यासलाई सहयोगको स्रोत बनाउने र हानिकारक अभ्यासलाई संवेदनशील ढङ्गले सम्बोधन गर्ने सन्तुलन आवश्यक हुन्छ।

मृत्यु, शव व्यवस्थापन र परिवारको शोक

विपद्मा मृत्यु आफैँमा एउटा गहिरो मानसिक आघात हो। त्यसपछि मृतकको शरीरको व्यवस्थापन कसरी गरिन्छ भन्ने कुराले परिवारको शोक र मानसिक अवस्थामा थप प्रभाव पार्छ। शव व्यवस्थापनलाई केवल स्वास्थ्य, सुरक्षा वा फरेन्सिक प्रक्रियाका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन। यो मृतकको सम्मान, परिवारको अधिकार, पहिचान, शोक र संस्कृतिसँग जोडिएको विषय हो।

प्राकृतिक विपद्मा मृत्यु भएका व्यक्तिको शवका कारण सामान्यतया महामारी फैलिने जोखिम हुन्छ भन्न सकिँदैन। तर, त्यहाँ जनावरलगायत धेरैकाे मृत्यु र त्यसकाे व्यवस्थापन हुन सकेन भने महामारी फैलिन पनि सक्छ।  त्यसैले व्यवस्थित दाहसंस्कार वा व्यवस्थापन गर्नुपर्छ।

शवको सम्मानपूर्वक संकलन, पहिचानका लागि आवश्यक विवरण र तस्बिर राख्ने, विशिष्ट कोड दिने, सुरक्षित राख्ने र परिवारलाई पहिचान तथा अन्तिम संस्कारको प्रक्रियामा जोड्ने विषय महत्त्वपूर्ण हुन्छन्।

शव तत्काल पहिचान हुन नसकेमा अस्थायी रूपमा सुरक्षित स्थानमा राख्न सकिन्छ। शव लगेकाे अवस्थामा वा  चिस्यान व्यवस्थापन सम्भव नभएको अवस्थामा  फरेन्सिक तथा कानुनी निकायको समन्वयमा अस्थायी  गाड्ने विकल्प पनि हुन सक्छ।

तर त्यसका लागि स्थानको स्पष्ट अभिलेख, पहिचानका विवरण र पछि शव निकाल्न सकिने व्यवस्था हुनुपर्छ। विज्ञान र संस्कृतिलाई एकअर्काको विरोधी मान्नुपर्ने आवश्यकता छैन।

यस्तो अवस्थामा मनोसामाजिक सेवाको भूमिका अझ संवेदनशील हुन्छ। परिवारलाई सही सूचना दिनु, शोकमा रहेका व्यक्तिका कुरा सुन्नु, उनीहरूलाई आवश्यक सेवासँग जोड्नु, धार्मिक तथा सांस्कृतिक आवश्यकता बुझ्नु र दीर्घकालीन शोक व्यवस्थापनमा सहयोग गर्नु यसको मुख्य हिस्सा हो।

परिवारले आफ्ना प्रियजनको अन्तिम अवस्था, पहिचान र अन्तिम संस्कारबारे स्पष्ट जानकारी पाउनु केवल प्रशासनिक प्रक्रिया मात्र नभई शोक प्रक्रिया पूरा गर्ने अधिकार पनि हो।

कसलाई कस्तो सेवा आवश्यक?

विपद्पछि सबै मानिसलाई एउटै प्रकारको सहयोग आवश्यक पर्दैन। कसैलाई परिवार र समुदायको साथ पर्याप्त हुन्छ, कसैलाई सामुदायिक तहको मनोसामाजिक सहयोग चाहिन्छ, कसैलाई मनोसामाजिक परामर्श आवश्यक पर्न सक्छ भने कसैलाई विशेषज्ञ मानसिक स्वास्थ्य सेवा नै चाहिन्छ।

त्यसैले मनोसामाजिक तथा मानसिक स्वास्थ्य सहयोगलाई एउटै तह वा एउटै पेसाको जिम्मेवारीका रूपमा बुझ्नु हुँदैन। यो बहुस्तरीय र बहुविषयगत क्षेत्र हो।

सबै जनशक्तिलाई एउटै स्तरमा राख्नु वा कुनै पेसालाई अर्कोभन्दा माथि वा तल राखेर हेर्नु उपयुक्त हुँदैन। महत्त्वपूर्ण कुरा कसले, आफ्नो दक्षता, तालिम, अनुभव र कार्यदायराअनुसार कुन तहको सेवा सुरक्षित र गुणस्तरीय रूपमा दिन सक्छ भन्ने हो।

सामुदायिक मनोसामाजिक कार्यकर्ता  समुदायसँग प्रत्यक्ष जोडिएका हुन्छन्। उनीहरूले प्रभावित व्यक्तिको पहिचान, समुदायमा पहुँच, मनोसामाजिक सहयोग, आधारभूत सहयोगात्मक सीप, आवश्यकताअनुसार प्रेषण (रेफर) तथा समुदाय र उपलब्ध सेवाबिच सम्बन्ध जोड्ने काममा महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्।

त्यसैगरी, तालिमप्राप्त शिक्षक तथा स्वास्थ्यकर्मीले आफ्नो कार्यक्षेत्र र दक्षताको सीमाभित्र रहेर मनोसामाजिक सहयोग, समस्याको प्रारम्भिक पहिचान र आवश्यक सेवातर्फ प्रेषणमा योगदान गर्न सक्छन्। विशेष गरी शिक्षकहरू बालबालिकासँग नियमित सम्पर्कमा हुने भएकाले उनीहरूमा आएको व्यवहारगत परिवर्तन पहिचान गर्न सहज हुन्छ।

मनोसामाजिक परामर्शदाताले आफ्नो तालिम र व्यावसायिक दक्षताअनुसार केन्द्रित मनोसामाजिक सहयोग तथा परामर्श प्रदान गर्न सक्छन्।

मनोसामाजिक तथा मानसिक स्वास्थ्य पेसाकर्मीले मनोवैज्ञानिक मूल्यांकन, मनोवैज्ञानिक सहयोग तथा उपचारात्मक सेवामा योगदान पुर्‍याउँछन् भने मनोचिकित्सकले जटिल तथा गम्भीर मानसिक स्वास्थ्य अवस्थाको पहिचान, चिकित्सकीय व्यवस्थापन र विशेषज्ञ सेवा प्रदान गर्छन्।

यसलाई पेसागत प्रतिस्पर्धाका रूपमा हेर्नु हुँदैन। एउटा तहको काम अर्को तहले विस्थापित गर्ने नभई आवश्यकता र दक्षताअनुसार एकअर्कालाई जोड्ने हो। प्रभावकारी मनोसामाजिक तथा मानसिक स्वास्थ्य प्रणाली त्यही हो, जहाँ समुदायबाट सुरु भएको सहयोग आवश्यक पर्दा क्रमशः उपयुक्त विशेषज्ञ सेवासम्म पुग्न सक्छ र विशेषज्ञ सेवाबाट पुनः समुदायमा जोडिने बाटो खुला रहन्छ।

यसका लागि नेपालमा मनोसामाजिक तथा मानसिक स्वास्थ्य सेवाका लागि न्यूनतम राष्ट्रिय मापदण्डको आवश्यकता छ। कसले कस्तो शिक्षा र तालिम लिने, कुन तहको सेवा दिने, कार्यदायराभन्दा बाहिरको अवस्थामा कसरी प्रेषण गर्ने, कस्तो सुपरिवेक्षण आवश्यक पर्ने, गोपनीयता र व्यावसायिक नैतिकता कसरी कायम गर्ने तथा विपद्का बेला जनशक्ति कसरी परिचालन गर्ने भन्नेबारे स्पष्ट नियम हुनुपर्छ।

सुपरिवेक्षण आधारभूत आवश्यकता

विपद्का बेला सेवा लिने मानिस मात्र होइन, सेवा दिने मानिस पनि तनावमा हुन्छन्। अरूको दुःख, मृत्यु, शोक र पीडासँग लगातार काम गर्दा सेवाकर्मीहरू स्वयं थाक्न सक्छन्। उनीहरूमा भावनात्मक थकान र तनाव (बर्नआउट) देखिन सक्छ। त्यसैले सेवाप्रदायकको स्वहेरचाहलाई पनि सेवाको गुणस्तरको हिस्सा मान्नुपर्छ।

तर स्वहेरचाह मात्र पर्याप्त हुँदैन, नियमित सुपरिवेक्षण आवश्यक पर्छ। जटिल केस आए कससँग छलफल गर्ने? क्षमताभन्दा बाहिरको समस्या आए कहाँ पठाउने? लामो समयसम्म समस्या रहिरहे कसरी समीक्षा गर्ने? सेवाप्रदायक स्वयं भावनात्मक रूपमा प्रभावित भए कसले सहयोग गर्ने? यी प्रश्नको उत्तर सुपरिवेक्षण प्रणालीले दिनुपर्छ। सुपरिवेक्षणलाई औपचारिक प्रक्रिया मात्र नमानी गुणस्तरीय र सुरक्षित सेवाको आधार मान्नुपर्छ।

राहत सकिएपछि वास्तविक पुनस्थापना

विपद्को प्रारम्भिक चरणमा सबैको ध्यान उद्धार र राहतमा हुन्छ। तर पानी घटेपछि संकट सकिँदैन। घर, रोजगारी, खेतबारी र व्यवसाय नष्ट भएका हुन्छन्। बालबालिकाको पढाइ रोकिएको हुन्छ, परिवारका सदस्य हराइरहेका वा गुमेका हुन्छन् र ऋणको भार बढेको हुन्छ।

यही समयबाट मानिसले आफूले गुमाएका कुरा बिस्तारै महसुस गर्न थाल्छन्। त्यसैले राहत सकिएपछि मनोसामाजिक तथा मानसिक स्वास्थ्यको आवश्यकता अझ बढी देखिन सक्छ।

हामीले पुनर्निर्माणलाई भौतिक संरचना निर्माणमा मात्र सीमित गर्यौँ भने पुनस्थापनाको आधा पाटो मात्र पूरा हुन्छ। मानिसले फेरि सुरक्षित महसुस गरे कि गरेनन्? परिवार फेरि जोडिए कि जोडिएनन्?

बालबालिका सुरक्षित छन् कि छैनन्? शोकमा रहेका परिवारलाई समुदायको साथ छ कि छैन? मानिसले भविष्यको आशा जगाउन सके कि सकेनन्? यी पनि पुनर्निर्माणकै मुख्य प्रश्न हुन्।

मनोसामाजिक तथा मानसिक स्वास्थ्य सेवा आपत्कालीन आयोजना सकिएसँगै बन्द हुने कार्यक्रम हुनु हुँदैन। यसलाई स्वास्थ्य, शिक्षा, संरक्षण, सामाजिक सुरक्षा, जीविकोपार्जन र स्थानीय सरकारको नियमित प्रणालीसँग जोड्नुपर्छ।

सहयोग माग्नु कमजोरी होइन

विपद्पछि डर लाग्नु, चिन्ता हुनु, निद्रा बिग्रनु, प्रियजनको सम्झना आउनु वा भविष्यप्रति अन्योल हुनु अस्वाभाविक होइन। तर यस्तो अनुभव एक्लै बोकिरहनु आवश्यक छैन। कसैसँग कुरा गर्नु, परिवारको साथ खोज्नु, मनोसामाजिक सहयोग लिनु वा आवश्यक पर्दा मानसिक स्वास्थ्य विशेषज्ञसँग सम्पर्क गर्नु कमजोरी होइन, बरु आफ्नो स्वास्थ्यप्रतिको जिम्मेवारी हो।

नेपालमा तत्काल सहयोग आवश्यक परे राष्ट्रिय आत्महत्या निवारण हेल्पलाइन ११६६, राष्ट्रिय महिला आयोगको हेल्पलाइन ११४५, मनोसामाजिक तथा मानसिक स्वास्थ्य सहयोगका लागि १६६००१०२००५ र बाल हेल्पलाइन १०९८ जस्ता सेवामा सम्पर्क गर्न सकिन्छ।

भोटेकोशीको बाढीले विपद् केवल भौतिक क्षति मात्र नभई मानिसको सुरक्षाबोध, सम्बन्ध, जीविकोपार्जन, आत्मविश्वास र आशामाथिको आघात हो भन्ने सम्झाएको छ। त्यसैले पुनर्निर्माणको सफलता भौतिक निर्माणका साथै मानिसले पुनः सुरक्षित र अर्थपूर्ण जीवन जिउन सके कि सकेनन् भन्ने कुरामा निर्भर हुन्छ।

राहतले जीवन जोगाउन सक्छ, उपचारले घाउ निको पार्न सक्छ, तर सम्मानजनक साथ र मनोसामाजिक सहयोगले मानिसलाई फेरि जीवन जिउने आधार दिन्छ। विपद्ले मानिसलाई एक्लो बनाउन खोज्छ, तर हाम्रो काम मानिसलाई पुनः समुदाय र जीवनसँग जोड्नु हो। पुनर्निर्माण घरको मात्र होइन, मनको पनि हुनुपर्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *