राप्रपा महामन्त्री शरदराज पाठकद्वारा पार्टी परित्याग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री शरदराज पाठकले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका छन्। आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले राप्रपासँगको सम्बन्ध अन्त्य भएको बताएका छन्।
तत्कालीन विवेकशील साझा पार्टी छोडेर नेता रवीन्द्र मिश्रसँगै राप्रपा प्रवेश गरेका पाठकलाई करिब चार वर्षअघि महामन्त्रीको जिम्मेवारी दिइएको थियो।
राप्रपालाई समयानुकूल पुनर्संरचना गरी सुशासनप्रति इमानदार र सबै वर्ग-समुदायले भरोसा गर्न सक्ने दल बनाउने सहमति भए पनि सोअनुसार काम हुन नसकेकाले अलग्गिने निर्णयमा पुगेको उनले बताएका छन्।
पार्टी परित्याग गर्दै पाठकले राप्रपाको सिद्धान्त र व्यवहारमा गम्भीर विरोधाभास रहेको आरोप लगाएका छन्। ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खाए सरह हो’ भन्ने नारालाई मूलमन्त्र मानेको बताउने पार्टीभित्र व्यावहारिक प्रतिबद्धता र पारदर्शिताको ठूलो अभाव देखियो,’ विज्ञप्तिमा भनिएको छ।
पार्टीभित्र केन्द्रमा दिक्कलाग्दो आन्तरिक बेमेल र गुटगत स्वार्थको तिक्त सङ्घर्ष बढ्दै गएको टिप्पणी गर्दै उनले यस्तो परिस्थितिले नयाँ पुस्ताका इमानदार तथा सचेत युवाहरूलाई आकर्षित गर्न नसक्ने स्पष्ट पारेका छन्।
विद्यमान अवस्थामा परिवर्तन ल्याउन सक्ने सम्भावना नदेखिएकाले पार्टी छोड्नु परेको र यसमा आफ्ना पनि केही कमजोरी रहेको उनले स्वीकार गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment