भोटेकोशी बाढी: अन्तर्राष्ट्रिय टोलीको सहयोगमा खोजी, उद्धार र राहत कार्य जारी

डिसी नेपाल
२१ भदौ २०८३ १८:४८

काठमाडौं।  भोटेकोशी बाढी विपद्को १२औँ दिन पनि खोजी, उद्धार र राहत कार्य निरन्तर चलिरहेको छ। बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै ठूलो सङ्ख्यामा नागरिक विस्थापित भएका छन्।

यस विपद्ले रसुवा, नुवाकोट, धादिङ र नदीको बहाव क्षेत्रअन्तर्गतका अन्य जिल्लाका घर, भवन, सडक, पुल, जलविद्युत् संरचना तथा अन्य महत्वपूर्ण पूर्वाधारमा गम्भीर क्षति पुर्‍याएको छ।

नेपाल सरकारले खोजी, उद्धार तथा राहतका लागि उपलब्ध सम्पूर्ण साधन र स्रोत परिचालन गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पूर्ण रूपमा मैदानमा खटिएका छन्।

यसका साथै विपद् व्यवस्थापनसम्बन्धी निकाय, प्रदेश तथा स्थानीय तह र अन्य सम्बन्धित निकाय पनि उद्धारमा सक्रिय छन्।

परराष्ट्र मन्त्रालयका अनुसार खोजी, उद्धार तथा राहत कार्यका लागि देशभित्रका साथै छिमेकी मुलुक र अन्तर्राष्ट्रिय साझेदारहरूसँग निरन्तर समन्वय भइरहेको छ।

भारत, चीन र गणतन्त्र कोरियाबाट आएका सुरुङ उद्धार टोलीले नेपाली सेनासँग समन्वय गरी खोजी तथा उद्धार कार्य गरिरहेका छन्। मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त उद्धार सहयोगका उपकरण, ड्रोन, लोड क्यारियर र अन्य सामग्री उद्धार कार्यमा प्रयोग भइरहेका छन्।

मन्त्रालयको विवरणअनुसार अनुरोध गरिएका विशिष्टताअनुसार नौ वटा उच्च क्षमताका ड्रोनसहित ११ सदस्यीय विशेष मलेसियाली विपद् सहायता तथा उद्धार टोली शनिबार नेपाल आइपुगेको छ।

हालसम्म १३ हजार १०४ जनाको उद्धार गरिएकामा ३०० भन्दा बढी विदेशी नागरिक रहेका छन्। अझै पनि अनुमानित एक हजार मानिस बेपत्ता रहेका छन्, जसमा ३५ देशका अनुमानित ६०० जना विदेशी नागरिक परेका छन्।

बाढी प्रभावित क्षेत्रबाट हालसम्म एक हजार ३४१ वटा शव फेला पारिएको छ। प्रभावित क्षेत्रमा सडक, विद्युत् तथा दूरसञ्चार सम्पर्क पुनःस्थापना गर्न र प्रभावित जनतासम्म राहत सामग्री समयमा पुर्‍याउन सम्बन्धित निकायहरूले काम गरिरहेका छन्।

अन्तर्राष्ट्रिय समुदाय, साझेदार तथा व्यक्तिहरूबाट प्राप्त थप सामग्री र सहयोग प्रभावकारी रूपमा परिचालन भइरहेको छ।

नेपाली सेना र इन्जिनियरको टोलीले तादी नदीमाथि अस्थायी पुल निर्माण गरी गल्छी-त्रिशूली सडक पुनःस्थापना गर्ने काम गरिरहेका छन्। यसका अतिरिक्त त्रिशूलीको इन्द्रेणीघाट र देवीघाटमा एक-एक गरी दुई वटा तुइन सञ्चालनमा ल्याइसकिएको छ।

द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन (आरडिएनए)अन्तर्गत गरिएको प्रारम्भिक मूल्याङ्कनअनुसार करिब सात हजार ५७० घरधुरीका ३२ हजार ९३३ जना प्रभावित भएका छन्। त्यस्तै ४८ सरकारी कार्यालय प्रभावित भएका छन् भने ५५ किलोमिटर सडक, ३७ वटा मोटरेबल पुल र ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ।

यसैगरी, करिब एक हजार ८०६ हेक्टर कृषि भूमि, १३ वटा जलविद्युत् आयोजना, एउटा सौर्य ऊर्जा प्लान्ट र दुई वटा प्रसारण लाइनमा क्षति पुगेको छ। उक्त मूल्याङ्कनले ७८३ मेगावाट जलविद्युत् उत्पादन क्षमता प्रभावित भएको देखाएको छ। क्षतिको परिमाण र विस्तारलाई ध्यानमा राख्दै पूर्ण क्षति र पुनर्निर्माण तथा पुनःस्थापनाका लागि आवश्यक लागत निर्धारण गर्न विपद्पश्चात आवश्यकता मूल्यांकन (पिडिएनए) पनि एकैसाथ अघि बढाइएको छ।

फरेन्सिक प्रक्रिया पूरा गरेपछि बरामद शवको अस्थायी व्यवस्थापन गर्न सम्बन्धित निकायहरूले सुरु गरेका छन्, जसले पछि पहिचान गरी मृतकका परिवारलाई अन्तिम संस्कारका लागि शव हस्तान्तरण गर्न सहज हुनेछ। बेपत्ता व्यक्तिका निकटतम परिवारजनलाई महाराजगञ्ज काठमाडौँस्थित नेपाल प्रहरी अस्पताल वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

विदेशमा रहेका परिवारजनले बसोबास गर्ने देशमा डिएनए नमूना सङ्कलनमार्फत रिपोर्ट तयार गरी पठाउन सक्ने व्यवस्था मिलाइएको छ। भारत, चीन, जापान, सिङ्गापुर र गणतन्त्र कोरियाका फरेन्सिक टोलीले नेपाल प्रहरी र अन्य निकायहरूसँग समन्वय गरी डिएनए सङ्कलन, विश्लेषण र मृतकका अवशेषको पहिचानसम्बन्धी कार्यलाई तीव्र बनाएका छन्।

मन्त्रालयले कूटनीतिक नियोगका प्रतिनिधिहरूका लागि ‘ब्रिफिङ’ तथा स्वदेशी र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका लागि ‘प्रेस ब्रिफिङ’ आयोजना गरी उद्धार, राहत र विदेशी सहयोगसम्बन्धी जानकारी उपलब्ध गराउँदै आएको छ।

हालसम्म मन्त्रालयले सम्बन्धित देश तथा निकायहरूसँग समन्वय गरी राहत सामग्री र उद्धार टोली बोकेर आएका २६ वटा उडानको अनुमति तथा सहजीकरण गरिसकेको छ।

बाढीबाट प्रभावित भई नेपाल फर्कन चाहने नेपाली नागरिकलाई सुरक्षित रूपमा स्वदेश फर्काउन मन्त्रालय र चीनस्थित नेपाली नियोगले चिनियाँ अधिकारीहरूसँग समन्वय गरिरहेका छन्। शनिबारसम्म तातोपानी नाका हुँदै कुल ४३१ जना नेपाली नागरिक नेपाल फर्किएका छन् भने सोही नाकाबाट आज थप १०५ जना नेपाली नागरिक स्वदेश फर्कने अपेक्षा गरिएको छ।

विदेश नागरिकको खोजी तथा उद्धारमा समन्वय गर्न उपशिष्टाचार प्रमुख प्रेमराज गौतमलाई प्रभावित क्षेत्रमा रहेको अपरेसन सेन्टरमा परिचालन गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *