रसुवा बाढीमा कर्णालीका १६८ जनाको अवस्था अज्ञात

डिसी नेपाल
२१ भदौ २०८३ १९:०३

कर्णाली। रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीका कारण कर्णाली प्रदेशका अझै १६८ व्यक्तिको अवस्था अझै अज्ञात रहेको छ।

भोटेकोशी बाढीमा परेर कर्णाली प्रदेशका १० जिल्लाका २४८ जना सम्पर्कविहीन भएकामध्ये ७८ जना सम्पर्कमा आएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो। बाढीबाट दुई जनाको मृत्यु भएको उनले बताए।

मृत्यु हुनेमा हुम्लाको ताजाकोट गाउँपालिका–२ का नहकुल शर्मा हुन्। उहाँ रसुवा भन्सार कार्यालयका अधिकृत थिए। गोरखामा शव भेटिएका शर्माको काठमाडौं पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। त्यस्तै, सल्यानको बागचौर नगरपालिका–१० पीपलनेटाका २० वर्षीय आयुष खड्काको पनि बाढीबाट मृत्यु भएको छ। प्लान्ट क्वारेन्टाइन टिमुरेमा खरिदार पदमा कार्यरत उनको चितवन देवघाटमा दाहसंस्कार गरिएको छ।

कर्णाली प्रदेश प्रहरीले उपलब्ध गराएको विवरणअनुसार अज्ञात अवस्थामा हुनेमा सबैभन्दा धेरै जुम्लाका ६३ जना छन्। यस्तै सल्यानका ५१, सुर्खेतका १५, मुगुका ११, रुकुम पश्चिमका सात, हुम्ला र कालीकोटका छ/छ, दैलेखका पाँच तथा जाजरकोट र डोल्पाका दुई÷दुई जनाको अवस्था अज्ञात रहेको प्रहरी वरिष्ठ उपरीक्षक राठौरले बताउनुभयो। अज्ञात अवस्था रहेकामा १३४ पुरुष, २६ महिला तथा आठ बालबालिका रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *