चोरीका गरगहना खरिद गरेको आरोपमा सर्लाहीका ज्वेलर्स सञ्चालक पक्राउ
सर्लाही। सर्लाहीको पर्सा गाउँपालिका-२, संग्रामपुरस्थित मौजे ज्वेलर्सका सञ्चालक विश्वनाथ साह सोनार चोरीका गरगहना खरिद गरेको आरोपमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले शनिबार दिउँसो साहलाई नियन्त्रणमा लिएको हो।
चोरीको घटनामा पहिले नै पक्राउ परेका एक अभियुक्तले दिएको बयानका आधारमा अनुसन्धान अघि बढाउँदा साहको संलग्नता खुलेको प्रहरीले जनाएको छ। साहको पसलबाट चोरी भएका केही गरगहनासमेत बरामद गरिएको छ।
स्थानीयवासीका अनुसार साहले विगत करिब १० वर्षदेखि स्थानीय तथा भारतीय सीमावर्ती क्षेत्रबाट चोरी गरी ल्याइएका सुनचाँदीका गहना कम मूल्यमा किन्ने गरेका थिए। सोही अवैध कारोबारबाट ठूलो सम्पत्ति आर्जन गरेको दाबी स्थानीयको छ। तर, यी आरोपहरूको सत्यतथ्य पुष्टि हुन बाँकी रहेकाले थप अनुसन्धान जारी राखिएको प्रहरीले स्पष्ट पारेको छ।
प्रहरीले बरामद गरिएका गहनाहरूको पहिचान प्रक्रिया अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश गौतमका अनुसार चोरी भएका गहना आफ्ना हुन् भनी दाबी गर्ने पीडितहरूलाई जाहेरी दिन आह्वान गरिएको छ। प्राप्त जाहेरीका आधारमा मुद्दा दर्ता गरी थप कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment