‘शिक्षक आन्दोलनको इतिहास’ पुस्तक लोकार्पण: २००७ यताका आन्दोलन र सहमतिको एकीकृत दस्तावेज
काठमाडाैं। नेपालको शिक्षक आन्दोलन, पेशागत संघर्ष र प्राप्त उपलब्धिहरूलाई समेटेर तयार पारिएको खोजमूलक पुस्तक ‘शिक्षक आन्दोलनको इतिहास’ सार्वजनिक भएको छ।
नेपाल शिक्षक महासंघका निवर्तमान अध्यक्ष लक्ष्मीकिशोर सुवेदीद्वारा लिखित ४६४ पृष्ठको सो पुस्तकको शनिबार राजधानीमा आयोजित एक विशेष समारोहकाबीच लोकार्पण गरियो।
लेखककी आमा अम्बिका सुवेदी, नेपाल शिक्षक संघका पूर्वअध्यक्ष केशवप्रसाद भट्टराई, वर्तमान अध्यक्ष सोमनाथ गिरी र पूर्वसचिव खगराज बराललगायतले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन्।
विक्रम संवत् २००७ मा ‘नेपाल शिक्षक संघ’ को स्थापनादेखि पञ्चायतकालीन संघर्ष, २०३६ सालको ऐतिहासिक आन्दोलन र बहुदलीय व्यवस्थापछिका गतिविधिलाई पुस्तकमा समेटिएको छ।
२०३६ देखि २०८२ सालसम्मका शिक्षक आन्दोलन तथा सरकारसँग भएका विभिन्न सम्झौताका दस्तावेजहरूलाई पुस्तकमा प्रमाणका रूपमा प्रस्तुत गरिएको छ। पेशागत तथा राजनीतिक आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने २२६ जना शिक्षकहरूबारे खोजमूलक विवरण समेटिएको छ।
समारोहमा पुस्तकमाथि टिप्पणी गर्दै पूर्वअध्यक्ष केशवप्रसाद भट्टराईले शिक्षक आन्दोलनसम्बन्धी अध्ययन र विश्लेषणात्मक इतिहास लेखनका लागि यो पुस्तक एक महत्त्वपूर्ण प्राथमिक स्रोत बन्ने बताए।
पूर्वसचिव खगराज बरालले निजामती कर्मचारी र शिक्षकबीच सेवा सुविधा एवं पेन्सनमा अझै विभेद रहेको उल्लेख गर्दै यो पुस्तक सरकार र शिक्षकबीच भएका वार्ता र सहमतिको एकीकृत दस्तावेज भएको टिप्पणी गरे।
कार्यक्रममा महिला शिक्षक समाजकी अध्यक्ष जानुका नेपाल, एनप्याब्सनका सचिव मनोजकुमार श्रेष्ठ, राष्ट्रिय शिक्षक सङ्ठनकी उपाध्यक्ष अम्बिका चापागाँई, विश्लेषक अरुणकुमार सुवेदी र पत्रकार प्रकृति अधिकारीले पुस्तकको सफलताको शुभकामना व्यक्त गरेका थिए।
२०४४ सालमा शिक्षण सेवामा प्रवेश गरी भदौ १९ गते उमेरहदका कारण सेवानिवृत्तभएका लेखक सुवेदी नेपाल शिक्षक संघ काठमाडौंको अध्यक्ष, युनियनको उपमहासचिव, महासंघको महासचिव हुँदै अध्यक्षको जिम्मेवारी सम्हालिसकेका व्यक्तित्व हुन्। साहित्यमा समेत सक्रिय सुवेदीको यसअघि ‘तमोरको सुसेली’ कथासङ्ग्रह प्रकाशित भइसकेको छ।
शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको आयोजक तथा प्रकाशक शिखा बुक्स नै रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment