भोटेकोशी बाढीमा इन्जिनियर अजय सिंह १३ दिनदेखि सम्पर्कविहीन

डिसी नेपाल
२३ भदौ २०८३ ८:५६

जनकपुरधाम। रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका जनकपुरधामका इन्जिनियर अजयप्रसाद सिंह १३ दिन बितिसक्दा पनि परिवारको सम्पर्कमा आएका छैनन्। लामो समयसम्म श्रीमान्को कुनै खबर नआएपछि श्रीमती पूजा साहको चिन्ता र छटपटी झन् बढ्दै गएको छ।

रसुवास्थित युटी–२१६ मेगावाट डूसन पावर हाउसमा कार्यरत सिंह भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका हुन्। बाढी आएको १३ दिन बितिसक्दा पनि उनको अवस्था अज्ञात रहेपछि परिवारले तत्काल खोज तथा उद्धार अभियान प्रभावकारी बनाउन सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ।

श्रीमान् अझै जीवित र सकुशल रहेको विश्वासमा रहेकी पूजाले सामाजिक सञ्जालमार्फत भावुक सन्देश लेख्दै अजय जहाँ भए पनि एकपटक सम्पर्कमा आउन आग्रह गरेकी छन्।

“तिमी जहाँ छौँ, जस्तो छौँ, मलाई खबर गर, म आफैँ आउँछु, तिमीलाई लिन। बस्, एकपटक तिम्रो आवाज सुन्न र तिमीलाई देख्न पाऊँ,” पूजाले भनेकी छन्।

सानो छोरीसमेत बाबाको प्रतीक्षामा रहेको भन्दै उनले आफूलाई अन्य केही नचाहिएको र श्रीमान् सकुशल घर फर्किएको खबर मात्र सुन्न चाहेको बताएकी छन्।

“हाम्रो नानी अझै बाबाको भिडियो कलको प्रतीक्षामा छिन्। बाबाको आवाज सुन्न र अनुहार हेर्न पाएकी छैनन्। मैले अब केही मागेकी छैन, बस् मेरो श्रीमान् जहाँ हुनुहुन्छ, त्यहीँबाट सकुशल घर फर्काइदिनुहोस्,” उनको भावुक आग्रह छ।

परिवारले सिंहको खोजीका लागि सम्बन्धित कम्पनी, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, स्थानीय तह तथा विपद् व्यवस्थापन निकायको ध्यानाकर्षण गराउँदै तत्काल प्रभावकारी खोजी अभियान सञ्चालन गर्न माग गरेको छ।

पूजाका अनुसार मैलुङ बजार, क्याम्प आसपास, ठाडेगाउँ, राम्चे, ग्राङ, बटार, कालिकास्थान, धुन्चे, भोर्ले, यार्सा, मैलुङडाँडा तथा मैलुङ बजार आसपासका क्षेत्रमा सिंहको खोजी गर्न आवश्यक छ। साथै जङ्गल, पहाडी क्षेत्र तथा अन्य सम्भावित स्थानमा ड्रोन र उद्धार टोली परिचालन गर्न उनले आग्रह गरेकी छन्।

“हामीलाई थाहा छैन, हाम्रा प्रियजनहरू कहाँ र कुन अवस्थामा छन्। सायद कतै उद्धारको आशामा बस्नुभएको होला, सायद कसैको सहयोगको प्रतीक्षा गरिरहनुभएको होला,” पूजाले भनेकी छन्, “त्यसैले अब प्रश्न एउटै छ–उद्धार किन भइरहेको छैन ?”

उद्धार टोली पठाउने आश्वासन पाए पनि प्रभावकारी रूपमा खोजी हुन नसकेको परिवारको गुनासो छ। बिहान ड्रोनसहितको रेस्क्यु टोली घटनास्थलतर्फ जाने भनिए पनि दिउँसोसम्म टोली घटनास्थलमा पुग्न नसकेको पूजाले बताएकी छन्।

श्रीमान्को खोजीका लागि आफू दिनभर एक कार्यालयबाट अर्को कार्यालय धाउने, फोन गर्ने र अनुरोध गर्ने अवस्थामा पुगेको उनको भनाइ छ। समय बित्दै जाँदा पीडा र चिन्ता थप बढिरहेको उनले बताएकी छन्।

“हामी तपाईंहरूको कार्यालय धाउँदै–धाउँदै, अनुरोध गर्दागर्दै थाकिसकेका छौँ। अब के गर्ने ?” उनले प्रश्न गरेकी छन्।

पूजाले अजयको मात्र नभई मैलुङ क्षेत्रमा सम्पर्कविहीन तथा अलपत्र परेका सबै नागरिकको खोज तथा उद्धारलाई प्राथमिकतामा राख्न सरकार, सुरक्षा निकाय, स्थानीय तह, सम्बन्धित कम्पनी तथा विपद् व्यवस्थापन निकायसँग आग्रह गरेकी छन्।

“अब आश्वासन होइन, तत्काल उद्धार चाहिएको छ। हाम्रा मानिसहरूलाई खोजिदिनुहोस्, उद्धार गरिदिनुहोस्,” उनको आग्रह छ।

यसैबीच, रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका नागरिकमध्ये ३२ जना परिवारको सम्पर्कमा आएका छन्।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीमा परेर हराइरहेका मधेस प्रदेशका २२० जनामध्ये ३२ जना सम्पर्कमा आएका हुन्।

सम्पर्कविहीनमध्ये सप्तरीका एक जना र बाराका एक जना गरी दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ। अझै १८० जना सम्पर्कविहीन रहेको प्रवक्ता ढकालले बताएका छन्।

भोटेकोशी बाढीपछि लामो समयसम्म आफन्तको अवस्था अज्ञात रहँदा सिंहको परिवारसहित अन्य परिवारसमेत निरन्तर चिन्तामा छन्। सम्भावित सबै क्षेत्रमा समन्वयात्मक रूपमा खोज तथा उद्धार अभियान तीव्र बनाउन पीडित परिवारले सरकार र सम्बन्धित निकायसँग आग्रह गरिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *