सडक सञ्जालबाट विच्छेद उत्तरगया–२ मा रेडक्रसको खाद्य सामग्री सहयोग

डिसी नेपाल
२३ भदौ २०८३ ९:३७

काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण सडक सञ्जालबाट विच्छेद रहेको रसुवाको उत्तरगया गाउँपालिका–२ का बाढी प्रभावित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले खाद्य सामग्री सहयोग गरेको छ।

भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण उत्तरगया–२ अझै सडक सञ्जालसँग जोडिन सकेको छैन। सडकमार्फत राहत सामग्री पुर्‍याउन कठिन भएपछि नेपाल रेडक्रस सोसाइटीले हेलिकप्टरमार्फत अत्यावश्यक खाद्य सामग्री गाउँमा पुर्‍याएर ६० घरधुरीका स्थानीयवासीलाई वितरण गरेको हो।

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) को सहयोगमा खाद्य सामग्री वितरण गरिएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ। राहत सामग्री नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीसहित स्वयंसेवकहरूले प्रभावित परिवारलाई हस्तान्तरण गरेका थिए।

अध्यक्ष भण्डारीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा नेपाल रेडक्रसका स्वयंसेवकहरू तत्काल प्रतिकार्यमा निरन्तर खटिरहेको बताए। उनका अनुसार रसुवा, नुवाकोट र धादिङका बाढीबाट अति प्रभावित क्षेत्रमा स्वयंसेवकहरूले खोज तथा उद्धार, राहत वितरण, सहजीकरण र समन्वयको काम गरिरहेका छन्।

उनले बाढी प्रभावित नागरिकलाई आवश्यक राहत सामग्री उपलब्ध गराउने क्रम निरन्तर जारी रहेको बताए।

नुवाकोटमा रेडक्रसको आपत्कालीन स्वास्थ्य क्लिनिक

यसैबीच नेपाल रेडक्रस सोसाइटीले बाढी प्रभावित नुवाकोटमा आपत्कालीन स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याउने भएको छ।

विदुर नगरपालिका स्वास्थ्य शाखासँगको समन्वयमा नुवाकोट आदर्श बहुमुखी क्याम्पस, बट्टार परिसरमा क्लिनिक सञ्चालन गरिनेछ। क्लिनिकमार्फत ‘होल्डिङ सेन्टर’मा रहेका बाढी प्रभावित नागरिकलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइने रेडक्रसले जनाएको छ।

क्लिनिकबाट बहिरङ्ग सेवा, मनोसामाजिक परामर्श तथा स्वास्थ्य परामर्श, चिकित्सकको सिफारिसअनुसार औषधि वितरण, समुदायमा स्वास्थ्य तथा सरसफाइ प्रवर्द्धनसम्बन्धी मोबाइल सेवा र आवश्यक परे स्वास्थ्य संस्थामा रेफरल सेवा प्रदान गरिनेछ।

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा राहतसँगै स्वास्थ्यसम्बन्धी आवश्यकता पनि बढ्दै गएपछि रेडक्रसले आपत्कालीन स्वास्थ्य सेवा विस्तार गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *