वैदिक शिक्षासँगै जीवनोपयोगी अभ्यास: पञ्चमहालक्ष्मीमा योग तथा साउन्ड हिलिङ प्रशिक्षण
भक्तपुर । गुरुकुलमार्फत वैदिक ज्ञान प्रदान गर्दै आएको भक्तपुरको छालिङस्थित श्री पञ्चमहालक्ष्मी श्रीपीठ, श्रीधाममा योग, ध्यान तथा साउन्ड हिलिङसम्बन्धी विशेष प्रशिक्षण शिविर सम्पन्न भएको छ।
अनन्त श्री विभूषित कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को संरक्षकत्वमा रहेको उक्त पीठको गुरुकुलमा अध्ययनरत बटुक, ब्राह्मण गुरु, आचार्य तथा सेवकहरूलाई लक्षित गरी जीवनोपयोगी अभ्यास शिविर सञ्चालन गरिएको हो।
श्रीपीठका मठाधीश स्वामी वासुदेव प्रपन्नाचार्यको मार्गदर्शनमा आयोजित कार्यक्रममा योग, ध्यान, प्राणायाम र ध्वनि चिकित्सा (साउन्ड हिलिङ) मार्फत शारीरिक, मानसिक र आध्यात्मिक सन्तुलन कायम राख्ने व्यावहारिक प्रशिक्षण दिइएको थियो।
सनातन वैदिक परम्परामा योगलाई केवल शारीरिक व्यायाममा मात्र सीमित नराखी मन, प्राण र चेतनाबीच समन्वय स्थापित गर्ने माध्यमका रूपमा लिनुपर्ने स्वामी वासुदेवले बताए।
धार्मिक स्थलहरूलाई केवल कर्मकाण्डमा सीमित नराखी योग, ध्यान, संस्कार र आत्मिक स्वास्थ्य जागरणको केन्द्रका रूपमा विकास गर्न यस्ता कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ।
हिमालयन वेलनेस फाउन्डेसन, नेचुरल साउन्ड हिलिङ इन्टरनेसनल स्कुल तथा न्यू भिजन नेपालको सहकार्यमा आयोजित उक्त कार्यक्रममा योगाचार्य अशोक शर्मा भट्ट, सबनम खड्गी, रानु फुयाल र रूपक अर्यालले सहभागीहरूलाई योगासन, प्राणायाम र साउन्ड हिलिङका अभ्यास गराएका थिए।
आधुनिक जीवनशैलीका कारण बढ्दै गएको मानसिक तनाव न्यूनीकरण गर्न र नयाँ पुस्तालाई स्वस्थ एवं सन्तुलित जीवनशैलीतर्फ प्रेरित गर्न यस्ता अभ्यास उपयोगी हुने प्रशिक्षक भट्टले बताए।
आयोजकका अनुसार शारीरिक स्वास्थ्य, मानसिक शान्ति र आध्यात्मिक जागरणमा योगदान पुर्याउने यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment