भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

डिसी नेपाल
२४ भदौ २०८३ ८:२५

कपिलवस्तु। रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका २४८ जना अझै सम्पर्कविहीन रहेका छन्।

आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयअन्तर्गतको आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार बर्दियाका ७६, दाङका ५४, रोल्पाका २४, बाँकेका २३, रुपन्देहीका १९, पाल्पाका नौ, प्युठानका नौ, नवलपरासी (बर्दघाट सुस्तापश्चिम)का नौ, अर्घाखाँचीका आठ, गुल्मीका सात, कपिलवस्तुका छ तथा रुकुमपूर्वका चार जना सम्पर्कविहीन छन्।

बाढीपछि नवलपरासी (बर्दघाट सुस्तापश्चिम)मा मात्रै १५८ शव फेला परेका छन्। तीमध्ये ५२ महिला, ९० पुरुष, छ बालक, छ बालिका र चार जनाको लिङ्ग पहिचान हुन नसकेको केन्द्रले जनाएको छ।

त्यसैगरी, ६४ वटा शरीरका अङ्गसमेत फेला परेका छन्। शव र शरीरका अङ्ग गरी फेला परेको कुल सङ्ख्या २२२ पुगेको छ। फेला परेका शवमध्ये हालसम्म नौ जनाको सनाखत भएको छ। सनाखत हुनेमा एक महिला र आठ पुरुष रहेका छन्।

बाँकी शव तथा शरीरका अङ्गमध्ये १४२ शव र ६४ शरीरका अङ्ग गरी २०६ वटा व्यवस्थापन गरिएको केन्द्रको विवरणमा उल्लेख छ। बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिको खोजी तथा फेला परेका शव र शरीरका अङ्गको पहिचान एवं व्यवस्थापन कार्य अझै जारी रहेको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *