विपद्को बेला सत्तापक्ष–प्रतिपक्ष होइन, एउटै मोर्चामा उभिनुपर्छ : रवि लामिछाने (भिडियोसहित)

डिसी नेपाल
२४ भदौ २०८३ १६:१०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्को समयमा सत्तापक्ष र प्रतिपक्ष भनेर विभाजित हुन नहुने बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले प्राकृतिक विपत्तिले कुनै दल वा समूह छुट्याएर प्रहार नगर्ने भएकाले संकटको समयमा सबै राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा जोड दिए।

लामिछानेले भयानक विपद् र विध्वंसको सामना गरिरहेका बेला उद्धार तथा राहत कार्यलाई दलगत सीमाभन्दा माथि उठाएर राष्ट्रिय दायित्वका रूपमा अघि बढाउनुपर्ने बताए।

‘भयानक विपद् र विध्वंसको सामना गरिरहँदा को सत्तापक्ष र को प्रतिपक्ष भनेर तराजुमा जोखिँदैन। प्रकृतिको प्रहारले कुन पार्टीको समर्थक हो भनेर छानेर हिर्काउँदैन,’ उनले भने।

उनले विपद्को घडीमा सम्पूर्ण राजनीतिक दल र नेतृत्वले देखाएको परिपक्वता आफैँमा शक्तिशाली सन्देश भएको बताए। सर्वदलीय संवाद र अभ्यासमार्फत विपद्का बेला नागरिक हितका लागि एउटै मोर्चामा उभिने नेपालीको पहिचान पुनः स्थापित भएको उनको भनाइ थियो।

लामिछानेले संकटका बेला देखिएको राष्ट्रिय एकतालाई अमूल्य पुँजीको संज्ञा दिँदै यसलाई कुनै पनि हालतमा टुट्न दिन नहुने बताए।

विपत्तिका समयमा ‘हामी सरकारको साथमा छौँ’ भनेर विपक्षी दलका नेताहरूले गरेको उद्घोष सामान्य अभिव्यक्ति नभई ठूलो प्रतिबद्धता र परिपक्व राजनीतिक संस्कार भएको उनले बताए।

‘म खुला हृदयले उहाँहरूको प्रशंसा गर्छु,’ लामिछानेले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *