भोटेकोशी विपद्को असर तीज बजारमा: व्यापार ३० देखि ५० प्रतिशतमा सीमित, देखासिकी र तडकभडक घट्यो
काठमाडौं। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको प्रत्यक्ष असर यसवर्षको तीज लक्षित बजारमा परेको छ।
विशेष गरी तीजका बेला बढी माग हुने कपडा, चुरा, पोते तथा शृंगारका सामग्रीको कारोबार विगतको तुलनामा अपेक्षाअनुसार हुन नसकेको व्यवसायीहरूले बताएका छन्।
तीज नजिकिँदै गर्दा बजारमा चहलपहल बढ्नुपर्ने भए पनि प्राकृतिक विपद्, आपूर्ति प्रणालीमा आएको अवरोध र देशको शोककुल परिस्थितिका कारण उपभोक्ताको खरिद क्षमता एवम् पर्व मनाउने उत्साहमा निकै कमी आएको छ।
कलंकीमा कस्मेटिक व्यवसाय गर्दै आएका संगम मुस्कान मरासैनीका अनुसार यसवर्ष तीजका लागि नयाँ सामान ठूलो परिमाणमा आयात गरिएको छैन। विगतमै आयात गरेर गोदाममा राखिएको पुराना स्टकबाटै अहिलेको माग धानिरहेको उनले बताए।
बाढीका कारण तातोपानी नाका प्रभावित हुँदा कतिपय व्यापारीका सामान बगाएकाले केही वस्तुको आपूर्तिमा असर परेको छ। मरासैनीका अनुसार अहिले चुरा, पोते तथा शृंगारका सामग्रीको व्यापार विगतको तुलनामा करिब ३० देखि ५० प्रतिशतमा सीमित भएको छ।
“अहिले सुनको भाउ छुन नसक्ने गरी महँगो भएकाले नक्कली गहना तथा चुरा-पोतेको बिक्री त भइरहेको छ, तर पहिलाको जस्तो छैन। अहिले देश नै शोकमा छ, त्यसैले तीज पनि उत्सवका रूपमा मनाइएको छैन,” मरासैनीले भने।
अर्की व्यवसायी रोनीका श्रेष्ठले पनि गत वर्षको तुलनामा यसवर्ष व्यापार निकै घटेको बताइन्। पहिरोका कारण आपूर्ति प्रभावित हुँदा खुद्रा बजारसम्मै असर परेको छ। बजारमा चहलपहल घटेसँगै ग्राहकले महँगा तथा ‘गोल्ड प्लेटेड’ सामग्रीभन्दा चुरा, पोलेजस्ता सस्ता सामग्री बढी रुचाउन थालेका छन्।
“सामानहरू म बाहिरबाट wholesale मा किन्ने गर्छु। बाढी आएदेखि एकदम गाह्रो भइरहेको छ। अहिले महँगा सामग्रीभन्दा सस्तो-सस्तो आइटम धेरै बिक्री भइरहेको छ,” श्रेष्ठले भनिन्।
यस्तै कुर्था तथा महिला र बालबालिकाका कपडा व्यवसायी अपेक्ष ढुङ्गेलले यसवर्ष आफ्नो व्यवसायको कारोबार २५ प्रतिशत पनि हुन नसकेको दुखेसो पोखिन्। बाढीपहिरोमा ठूलो सङ्ख्यामा मानिसहरूले ज्यान गुमाएको र धेरै परिवार शोकमा रहेका कारण बजार घुम्ने तथा किनमेल गर्ने वातावरण बन्न नसकेको उनको भनाइ छ।
“देशमै शोक परेको अवस्थामा मान्छेहरू बजार घुम्न आउने कुरा भएन। म आफैँ पनि नुवाकोटको भएकाले मनमा पीडा छ। हामीले तीजका लागि रातो र गुलाबी रङका कपडाहरू टन्नै ल्याएका थियौँ, तर यसवर्ष दर खाने सामूहिक कार्यक्रमहरू घटेकाले थोक बिक्रीसमेत गर्न सकेनौँ,” ढुङ्गेलले भनिन्।
हालैको बाढीपहिरोका कारण आपूर्ति प्रणालीमा परेको असर, सुनको अत्यधिक मूल्यवृद्धि र देशको शोककुल वातावरणका कारण यसवर्ष तीज लक्षित व्यापारमा ठूलो मन्दी आएको व्यवसायीहरूको साझा निष्कर्ष छ।
No ads found for this position



Facebook Comment