काठमाडौंलाई व्यवस्थित बनाउन महानगर प्रहरीको भूमिका प्रशंसनीय: आईजीपी कार्की

डिसी नेपाल
२८ भदौ २०८३ १२:१४

काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले काठमाडौं महानगर प्रहरी बलले शान्ति सुरक्षा, सडक अनुशासन, अतिक्रमण नियन्त्रण तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा अत्यन्तै महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन्।

काठमाडौँ महानगर प्रहरी बलको ३४औं वार्षिकोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

देशको राजनीतिक, आर्थिक, सांस्कृतिक, प्रशासनिक तथा पर्यटकीय गतिविधिका साथै कूटनीतिक नियोगहरू र ऐतिहासिक सम्पदाहरू काठमाडौँमै केन्द्रित रहेकाले महानगर प्रहरीको जिम्मेवारी विशिष्ट र चुनौतीपूर्ण रहेको आईजीपी कार्कीले उल्लेख गरे।

तीन दशकभन्दा लामो यात्रा पूरा गरिसकेको महानगर प्रहरीले बजार तथा पार्किङ व्यवस्थापन, फुटपाथ नियन्त्रण, सरसफाइ, सम्पदा संरक्षण र सामाजिक विकृति नियन्त्रणमा निरन्तर काम गर्दै आएको उनले बताए।

“सडक तथा फुटपाथ अतिक्रमण हटाउने काम सहज र लोकप्रिय हुँदैन, तर व्यवस्थित र सुन्दर सहर निर्माणका लागि यस्ता कार्यहरू अपरिहार्य छन्,” आईजीपी कार्कीले भने, “कर्तव्य निर्वाहका क्रममा आक्रमण र कुटपिटजस्ता जोखिमको सामना गरेर पनि निरन्तर जिम्मेवारीमा खटिनु महानगर प्रहरीको उच्च समर्पणको उदाहरण हो।”

विपद्का समयमा खोज, उद्धार तथा राहत कार्यमा नेपाल प्रहरीसँग सहकार्य गर्दै महानगर प्रहरीले निर्वाह गरेको भूमिकाको पनि उनले प्रशंसा गरे। सानो सङ्ख्याबाट सुरु भएको यो बल आज स्थानीय तहअन्तर्गत एक गौरवमय र उदाहरणीय संगठनका रूपमा स्थापित भइसकेको उनको भनाइ थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *