संकटको सारथि बनेको ७० वर्षे कान्ति लोकपथ: समस्या पर्दा मात्रै सम्झिन्छ सरकार

सजना तिमल्सिना / रासस
२८ भदौ २०८३ १२:५१

ललितपुर।  देशको राजधानी काठमाडौं उपत्यका प्रवेश गर्ने प्रमुख राजमार्ग पृथ्वी राजमार्ग अवरुद्ध भएपछि मालवाहक सवारीसाधन (ट्रक र कन्टेनर) को सम्पूर्ण चाप यतिबेला कान्ति लोकपथमा परेको छ।

हेटौंडाबाट मालवाहक र यात्रुवाहक सवारीसाधन त्रिभुवन राजपथ हुँदै काठमाडौँ भित्रिने र काठमाडौँबाट फर्किने खाली सवारीसाधन कान्ति लोकपथ हुँदै हेटौँडा पुग्ने गरी ट्राफिक व्यवस्थापन गरिएको छ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ कृष्णभीरमा गत भदौ १४ गते त्रिशूली नदीमा आएको विनाशकारी बाढीले सडक कटान गरेपछि पृथ्वी राजमार्गको काठमाडौं-मुग्लिन सडक खण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ।

वैकल्पिक ‘ट्र्याक’ खुले पनि नियमित यातायात सहज बन्न अझै केही समय लाग्ने देखिएपछि यो संकटको सारथि कान्ति लोकपथ बनेको छ।

ललितपुर र मकवानपुरलाई जोड्ने यो सडकको प्रस्थान विन्दु ललितपुरको गोदावरी नगरपालिका-६ स्थित टीकाभैरव हो। टीकाभैरव पुग्न चक्रपथ ललितपुर खण्डको चापागाउँ दोबाटो वा एकान्तकुनाबाट नक्खु करिडोर हुँदै दुईवटा सडक प्रयोग गर्न सकिन्छ। अहिले उपत्यकाबाट बाहिरिने सवारीसाधन एकान्तकुना हुँदै टीकाभैरव पुगेर कान्ति लोकपथबाट हेटौँडा जाने गरेका छन्।

ठाउँ-ठाउँमा पहिरो र एकतर्फी ट्र्याकको सास्ती

ललितपुर जिल्लाको गोदावरी नगरपालिका-६ टीकाभैरवदेखि मकवानपुरको भीमफेदी गाउँपालिकासम्म पुग्न विभिन्न ठाउँमा पहिरोको कडा अवरोध सामना गर्नुपर्छ।

कान्ति लोकपथ योजनाका सुपरभाइजर माधवप्रसाद घिमिरेका अनुसार गोदावरी गाउँपालिकाको बिर्खेधारासँगै बागमती गाउँपालिकाका विभिन्न ठाउँमा निरन्तर खस्ने पहिरोले सडक अवरुद्ध हुँदै आएको छ।

भालुखोला, कार्कीबास, काल्चे र भन्सेखोलाको पहिरो तथा एकतर्फी ट्र्याकका कारण सवारी आवागमनमा ठूलो समस्या छ।

“बागमती गाउँपालिका-३ का भालुखोला, कार्कीबास, छपेली नजिकैको काल्चे पहिरो, टाकुर्से र पाङ्दुर यो सडकका प्रमुख अवरोध हुन्। भान्से खोलामा एकतर्फी ट्र्याक मात्र भएकाले ठूला सवारीसाधन केही समय लाइनमा बस्नुपर्ने बाध्यता छ,” घिमिरेले भने।

बागमती गाउँपालिकाकै पाङ्दुरमा जम्मा ८०० मिटर सडक पार गर्न सवारीसाधनलाई २५ मिनेटदेखि आधा घण्टासम्म समय लाग्ने गरेको छ। “अहिले यस राजमार्गमा १२, १४ र १६ चक्के गाडी दैनिक २५०० देखि ३००० सम्म गुड्छन्।

त्यसले गर्दा रातभर पुरेर मिलाएको सडक दिनभरमा फेरि भत्किसकेको हुन्छ,” लोकपथको वास्तविक समस्या सुनाउँदै घिमिरेले भने।

बागमती गाउँपालिकाको तामाखानीमा कडा चट्टान काट्न नसक्दा ६५ मिटर बाटोमा ठूलो समस्या छ। चट्टान कटानको काम जारी रहेकाले यहाँ सवारीसाधनले थोरै बाटो पार गर्न पनि धेरै समय कुर्नुपर्ने बाध्यता रहेको उनले बताए।

साँघुरो र निर्माणाधीन सडक भएकाले ठूला बस सञ्चालनमा भने झनै समस्या परेको उनले बताए। “ट्रक र मालवाहक सवारीसाधन केही समय जाममा परे पनि समस्या छैन, तर ठूला रात्रि बस ठोक्किने समस्या धेरै छ।

नियमित पहिरो जाने क्षेत्रबाहेक बाटो राम्रो भए पनि एकतर्फी सडक भएकाले जाममा बस्नुपर्छ। रात्रि बसका कारण मालवाहक सवारी साधन समस्यामा पर्ने गरेका छन्,” उनले भने।

정부ले पृथ्वी राजमार्ग अवरुद्ध भएर काठमाडौँ उपत्यकालाई समस्या पर्दा मात्र कान्ति लोकपथलाई सम्झिने भएकाले यो सडकमा सधैं समस्या रहने गरेको घिमिरेको अनुभव छ। “यो सडक योजनामा सुपरभाइजर भएर काम गरेको ११ वर्ष भयो।

सरकारले आपत् वा संकटमा मात्र यो सडक सम्झिन्छ। पछिल्लो समय यो सडक योजनाका लागि एकमुष्ट ३ अर्ब रुपैयाँ बजेट आएको छ। योजनाअनुसार काम ७० प्रतिशत सकिएको छ, तर पछिल्लो समय गाडीको चाप अत्यधिक बढेकाले काम गर्न समस्या भइरहेको छ,” उनले थपे।

२४ घण्टै ट्राफिक व्यवस्थापन, तर स्थानीय व्यापारमा भने मन्दी

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार लोकपथमा अवरोध भए तत्काल पन्छाउन २४ घण्टा नै हेभी इक्विपमेन्टहरू तयारी अवस्थामा राखिएको छ।

भट्टेडाँडा र टीकाभैरवमा उपकरणहरू तैनाथ राखिएको उनले जानकारी दिए। सवारी चाप बढेसँगै टाखेल, ट्याक्सी पार्क, ढोलाहिटी, टीकाभैरव फूलबारी, टीकाभैरव बजार, तीनपाने र भट्टेडाँडामा ट्राफिक प्रहरी परिचालन गरिएको छ।

“भदौ १० गते भोटेकोशीमा बाढी आउनुअघि दैनिक एक सयको हाराहारीमा मात्र सवारीसाधन गुड्ने यो सडकमा बाढीपछि सवारी चाप ह्वात्तै बढेको छ। अहिले एकै दिनमा १ हजारदेखि १ हजार ५ सयसम्म सवारी साधन गुडेको तथ्यांक छ,” प्रवक्ता सुवेदीले भने।

तर मालवाहक सवारीसाधन मात्र गुड्न थालेपछि यो सडक आसपासको व्यापारमा भने ठूलो कमी आएको स्थानीय व्यापारीहरू बताउँछन्। कान्ति लोकपथअन्तर्गत छपेलीमा होटल व्यवसाय गर्दै आएकी प्रमिला दाहालका अनुसार अहिले यो बाटोमा धेरैजसो खाली गाडीहरू गुड्छन्।

“अहिले यो बाटोमा सबै खाली गाडी गुड्छन्। ठूलाठूला गाडी त गुडेका छन्, तर व्यापार भने छैन। एकछिन गाडी रोक्दा जाम भइहाल्छ। एउटा गाडीमा चालक र सहचालक मात्र हुन्छन्, के व्यापार हुनु!” उनले भनिन्।

यात्रुसहितका साना सवारीसाधन कान्ति लोकपथ हुँदै चल्दा दैनिक २०० जनासम्मलाई खाना खुवाउने उनले अहिले दिनमा मुस्किलले ५-१० जनाले मात्र खाना खाने गरेको दुखेसो पोखिन्।

यसैबीच ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य बुद्धरत्न महर्जनले सरकारले कान्ति लोकपथलाई प्राथमिकता नदिएको भन्दै आपत्ति जनाएका छन्। उनले संकट पर्दा मात्र नभएर राज्यले यस्ता महत्त्वपूर्ण राजमार्गहरूलाई सधैँ सक्षम र उपयोगी बनाउनुपर्नेमा जोड दिएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महर्जनले भने, “राष्ट्रिय राजमार्गका रूपमा रहेको यस सडकलाई राज्यले सामान्य अवस्थामा पर्याप्त प्राथमिकता दिएको देखिँदैन। तर जब विपत्ति आउँछ र मुख्य सडक अवरुद्ध हुन्छ, तब त्यही सडकलाई वैकल्पिक सडकका रूपमा खोल्नुपर्ने अवस्था आउँछ। संकट पर्दा मात्र सम्झिने होइन, संकट आउनु अगावै यस्ता मार्गलाई सक्षम र सुरक्षित बनाउनु राज्यको दायित्व हो।”

सत्तरी वर्षे इतिहास बोकेको राजमार्ग

ललितपुर र मकवानपुरलाई जोड्ने ऐतिहासिक कान्ति लोकपथ काठमाडौँ उपत्यकालाई बाह्य क्षेत्रसँग जोड्ने सात दशक पुरानो सडकमार्ग हो। वि.सं. २०१३ देखि निर्माण थालिएको यो सडक २०१४ माघ ९ गते तत्कालीन राजा महेन्द्रले उद्घाटन गरेका थिए।

ट्र्याक खुलेपछि २०१६ सालमा तत्कालीन राजा महेन्द्र आफैँ यो मार्ग भएर गाडी चलाउँदै हेटौँडा पुगेका थिए। तर सोही वर्ष आएको भीषण पहिरोपछि यो सडक खण्ड करिब ४० वर्षसम्म पूर्ण रूपमा ठप्प बन्यो।

वि.सं. २०५५ मा कोरिया सरकारले अनुदानमा कान्ति लोकपथको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने प्रस्ताव अघि बढाएपछि २०५६ देखि डीपीआर डिजाइनको काम सुरु भयो।

काठमाडौंलाई हेटौंडासँग जोड्ने छरितो र वैकल्पिक राजमार्गका रूपमा २०६६ सालदेखि ‘कान्ति लोकपथ आयोजना’मार्फत पुनःनिर्माण, विस्तार तथा स्तरोन्नति सुरु भएपछि यो सडक पुनः सञ्चालनमा आएको हो।

कान्ति लोकपथको ५१ किलोमिटर भाग मकवानपुर र ३८ किलोमिटर भाग ललितपुर जिल्लामा पर्छ। कूल ८९ किलोमिटर सडकको अधिकांश भाग कालोपत्र भइसकेको भए पनि पहिरो र पहाड कटानको काम भइरहेका विभिन्न ठाउँ गरेर करिब चार किलोमिटर सडक अझै कच्ची छ।

२०८१ सालको बाढीले बागमती खोलाको पुल बगाएपछि त्यहाँ बेलिब्रिज जडान गरिएको छ। सो बेलिब्रिजको भारवहन क्षमता र सुरक्षालाई दृष्टिगत गर्दै हालका लागि मालवाहक खाली गाडीहरूलाई मात्र यो सडकमा सञ्चालन अनुमति दिइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *