रुकुम पश्चिम जिप दुर्घटना : मृतक दुवै जनाको पहिचान खुल्यो, ४ गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लगियो

डिसी नेपाल
२८ भदौ २०८३ २०:०५

त्रिवेणी । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा भएको जिप दुर्घटनामा परी मृत्यु हुने तथा घाइते हुने सबैको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हेमन्त गिरीका अनुसार दुर्घटनामा परी त्रिवेणी गाउँपालिका–१ रुघाका २८ वर्षीय जिप चालक सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका–६ की १६ वर्षीया प्रेमकला पुनको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा परी १२ जना घाइते भएका छन्। गम्भीर घाइते भएका सानीभेरी गाउँपालिका–६ का ३८ वर्षीय बलबहादुर पुन, १५ वर्षीय पूर्णबहादुर जैसी, ५० वर्षीया कौशिला पुन र १५ वर्षीया खिमला पुनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रहरीले जनाएको छ।

अन्य घाइतेहरूको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ। आज बिहान कोटगाउँबाट सिम्लीतर्फ आउँदै गरेको लु१च ६०२९ नम्बरको जिप सानीभेरी–६ स्थित वडा कार्यालय नजिकै सिम्ली–दुली जोड्ने भित्री सडकखण्डबाट करिब १०० मिटर तल खसेको थियो।

जिप अनियन्त्रित भई दुर्घटना भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *