राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य
दाङ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञानबीच स्वास्थ्य शिक्षा, सेवा र अनुसन्धानका क्षेत्रमा सहकार्य गर्न आज सम्झौता भएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा अजयकुमार मिश्रकोतर्फबाट रजिष्ट्रार प्रा श्याम लम्साल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा सूर्यमान मेयान्ग्बोले आज सम्झौतामा हस्ताक्षर गर्नुभएको प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिए। सूचना अधिकारी भट्टराईका अनुसार दुवै प्रतिष्ठान देशको दुर्गम र जटिल क्षेत्रमा स्थापना भएका सन्दर्भमा दुवैले एकआपसमा सहकार्य गरेर पिछडिएका क्षेत्रको स्वास्थ्य अवस्थालाई सुधार्दै विविध विषयमा संयुक्त रूपमा कार्य गर्ने सम्झौतामा उल्लेख छ।
सम्झौतामा दुवै संस्थाले जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा पारेको असर र त्यसका समाधानका उपाय तथा हिमाली जडीबुटीको अध्ययन एवं देशभित्र उपलब्ध जडीबुटीबाट स्वदेशमै आधुनिक औषधि उत्पादन गर्न सकिने सम्भावनालगायत महत्वपूर्ण क्षेत्रमा संयुक्त अनुसन्धान गर्ने उल्लेख छ। वर्तमान समयमा जलवायु परिवर्तन र हिमाली जडीबुटी सम्बन्धित स्वास्थ्य अनुसन्धान राष्ट्रिय र अन्तरराष्ट्रिय रूपमा अत्यन्तै महत्वको विषय हो।
दुवै संस्थाले दुर्गम क्षेत्रको स्वास्थ्यसम्बन्धी मुद्दामा संयुक्त अनुसन्धान सञ्चालन गरी स्वास्थ्य सेवा, स्वास्थ्य संरचना सुधार, जनशक्ति व्यवस्थापनमा निरन्तर सहकार्य गर्ने सम्झौतामा उल्लेख छ। त्यसैगरी, दुवै संस्थाका प्राविधिक र प्रशासनिक जनशक्तिको एकअर्काको आवश्यकताअनुसार आदानप्रदान गरी सेवा प्रवाह, तालिम, शैक्षिक गतिविधि र अनुसन्धानका क्रियाकलाप सञ्चालन गर्न सहज बनाउनेसमेत प्रतिबद्धता उल्लेख गरिएको छ।
सम्झौताले पिछडिएका क्षेत्रको स्वास्थ्य सेवालाई सुधार गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सफल पार्न एवं समान उद्देश्यका लागि उपलब्ध साधनस्रोतलाई एकीकृत गरी स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्न सहज हुने विश्वास लिएका दुवै प्रतिष्ठानका पदाधिकारीहरूले बताएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment