भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

डिसी नेपाल
२९ भदौ २०८३ ६:३८

काठमाडौं।  भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या हालसम्म एक हजार ३९२ पुगेको छ। प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार बाढीमा परेका चार हजार ८९ जना अझै सम्पर्कविहीन रहेका छन्।

प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार फेला परेका शवहरूमध्ये ५४२ पुरुष, ३३६ महिला र ५१४ वटा आंशिक अंग मात्र रहेका छन्। हालसम्म फेला परेकामध्ये १०३ वटा शवको पहिचान भई आफन्तलाई हस्तान्तरण गरिसकिएको छ। बाँकी शवको पहिचान र सनाखतका लागि डिएनए  परीक्षणलाई प्राथमिकताका साथ अगाडि बढाइएको प्रहरीले जनाएको छ।

बाढीमा बेपत्ता भएका चार हजारभन्दा बढी व्यक्तिहरूको खोजी तीव्र पारिएको छ। बेपत्ता हुने स्वदेशी नागरिकतर्फ दुई हजार ९०७ पुरुष र ५७२ महिला रहेका छन् भने विदेशी नागरिकतर्फ २७२ पुरुष र ३२८ महिला सम्पर्कविहीन रहेका छन्।

विपदपछि चालिएको उद्धार कार्यका क्रममा हालसम्म नौ हजार २८७ जना घाइतेको सकुशल उद्धार गरिएको छ। जसमा छ हजार ४०७ पुरुष, दुई हजार ८३० महिला र पहिचान नखुलेका ५० जना रहेका छन्। उद्धार गरिएकामध्ये दुई हजार ७८१ जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरहरूमा राखिएको छ।

बाढीबाट ठूलो मानवीय क्षति भएकाले प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार, शवको पहिचान र राहत व्यवस्थापनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र सम्बन्धित सरकारी निकायहरू संयुक्त रूपमा परिचालित छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *