भक्तपुरको केदारनाथ मन्दिर तीजका अवसरमा पहिलो पटक खुला, साँझ चारधाम क्षेत्रमा महाआरती गरिँदै
भक्तपुर। भक्तपुर दरबार स्क्वायरस्थित ऐतिहासिक केदारनाथ मन्दिर हरितालिका तीजका अवसरमा पहिलो पटक सर्वसाधारणका लागि खुला गरिएको छ।
तत्कालीन राजा यक्ष मल्लद्वारा स्थापित उक्त मन्दिर तीजको व्रत बसेका महिलाहरूलाई दर्शन गर्न सहज होस् भन्ने उद्देश्यले खुला गरिएको संस्कृति अध्येता गणेश रञ्जितकारले जानकारी दिए।
मन्दिरका पुजारी प्रमिलराज सुवेदीका अनुसार यसअघि केदारनाथ मन्दिर वर्षमा दुई पटक अर्थात् बुद्धजयन्ती र महाशिवरात्रिका दिन मात्र खुला गर्ने परम्परा थियो।
यसपालि तीजका दिन बिहानैदेखि मन्दिर खुला गरिएपछि दर्शनार्थी महिलाहरूको बाक्लो उपस्थिति रहेको छ। स्थानीय सबिना बोहजुले विक्रम संवत् २०७२ को भूकम्पपछि पहिलो पटक मन्दिरभित्रै प्रवेश गरेर महादेवको दर्शन गर्न पाएकामा खुसी व्यक्त गरे।
यसैबीच, तीजका अवसरमा भक्तपुर दरबार स्क्वायरस्थित प्रसिद्ध चारधाम क्षेत्रमा साँझ भव्य महाआरती आयोजना गरिने भएको छ। भक्तपुर सम्पदा संरक्षण समूहका संयोजक सत्यराम सुवालका अनुसार चारधाम क्षेत्रमा एकैसाथ र एकै समयमा सञ्चालन हुने उक्त दिव्य महाआरतीमा सहभागी हुन श्रद्धालु भक्तजनहरूलाई निमन्त्रणा गरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment