बाढी प्रभावितका लागि आर्या फार्माको नयाँ पहल: नुवाकोटमा सात दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने

डिसी नेपाल
२९ भदौ २०८३ १५:५२

काठमाडौं। बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि निरन्तर सक्रिय रहँदै आएको आर्या फार्मा ल्याब प्रालिले नुवाकोटमा निःशुल्क स्वास्थ्य सेवा विस्तार गर्न चितवन मेडिकल कलेजसँग सहकार्य गरेको छ

यसअघि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ८२ लाख रुपैयाँ बराबरका औषधिजन्य सामग्री हस्तान्तरण गरिसकेको कम्पनीले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई प्रत्यक्ष रूपमा सेवा पुर्‍याउने उद्देश्यले सात दिने सामुदायिक स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो

आर्या फार्मा र चितवन मेडिकल कलेजको सहकार्यमा नुवाकोटको विदुर नगरपालिकाका बाढी प्रभावित नागरिकलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। सो शिविर विदुर नगरपालिका–७ स्थित सलोचना स्कुल, वडा नं. ५ स्थित त्रिशूली विद्यालय र वडा नं. ९ स्थित भैरवडाँडामा सञ्चालन गर्ने तय भएको छ

शिविरमा सहभागी स्थानीयवासीलाई विशेषज्ञ चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण, परामर्श, निःशुल्क औषधि वितरण तथा विभिन्न रोगहरूको परीक्षण सेवा उपलब्ध गराइनेछ। साथै, जटिल समस्या भई थप उपचार आवश्यक पर्ने बिरामीहरूको पहिचान गरी सम्बन्धित स्वास्थ्य संस्थामा रेफर गर्ने व्यवस्थासमेत मिलाइएको छ

बाढीपछिको विषम परिस्थितिमा प्रभावित परिवारहरू स्वास्थ्य संस्थासम्म पुग्न आर्थिक तथा व्यावहारिक कठिनाइमा परेकाले उनीहरूकै बस्तीमा पुगेर सेवा दिन लागिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार राहत सामग्री सहयोगदेखि समुदायमै पुगेर सञ्चालन गरिने यस्ता कार्यक्रमले विपद्को कठिन समयमा प्रभावित परिवारसँग उभिने र उनीहरूको पुनःस्थापनामा साथ दिने प्रतिबद्धतालाई झल्काउँछ

बाढीपछि उत्पन्न हुन सक्ने सम्भावित स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै आर्या फार्मा ल्याबले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत राहत र स्वास्थ्य सेवामार्फत आफ्नो सहयोगलाई निरन्तरता दिएको छ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *