पार्टीभित्रको विभाजन रोक्दै एकताको बाटो खोज्न डा. शेखर कोइरालाको आह्वान

डिसी नेपाल
१ असोज २०८३ १३:५९

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र मौलाउँदै गएको आन्तरिक विभाजन र गुटबन्दीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै पार्टीलाई एकताबद्ध बनाउन आह्वान गरेका छन्।

बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै डा. कोइरालाले कांग्रेसको आसन्न महाधिवेशन र मुलुकको वर्तमान परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

विज्ञप्तिमा डा. कोइरालाले कांग्रेस आफ्नो ऐतिहासिक विरासत र आदर्शबाट विचलित हुँदै गएको टिप्पणी गरेका छन्।

पार्टी आज विभाजित र गन्तव्य हराएको माझीझैँ बनेको उल्लेख गर्दै उनले संस्थापक नेता बीपी कोइरालाको राजनीतिक र नैतिक दर्शनलाई आत्मसात् गरेर पुनः एकढिक्का हुनुपर्नेमा जोड दिएका छन्।

रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा प्राकृतिक प्रकोपका कारण नागरिकहरू पीडामा पर्दा समेत पार्टी नेतृत्व संवेदनशील हुन नसकेकोमा उनले असन्तुष्टि व्यक्त गरे। जनता शोक र पीडामा रहेका बेला मानवीय संवेदनाको मलम बन्नुको साटो कांग्रेस विधानका धाराहरूमा अल्झिनु दुखद् भएको उनको भनाइ थियो।

पार्टीभित्रको आन्तरिक गुटबन्दीले देशको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा समेत नकारात्मक असर पार्न सक्नेतर्फ सचेत गराउँदै डा. कोइरालाले कसैलाई हराएर वा अपमानित गरेर जितको उत्सव मनाउनु कांग्रेसको संस्कृति नभएको बताए।

सबै पक्षलाई मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोज्न आग्रह गर्दै उनले आफू कांग्रेस र लोकतन्त्रलाई सफल बनाउन प्रतिबद्ध सिपाहीका रूपमा लागिपर्ने उल्लेख गरे। आरोप-प्रत्यारोपबाट माथि उठेर गाउँदेखि विदेशसम्मका सम्पूर्ण कार्यकर्ताहरूलाई पार्टी एकता अभियानमा जुट्न अपिल गर्दै उनले छिट्टै गाउँघर पुगेर साथीहरूसँग संवाद गर्ने प्रतिबद्धतासमेत जनाए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *