अक्सफोर्ड इकोनोमिक्स ग्लोबल सिटी इन्डेक्स २०२६: न्युयोर्क शीर्ष स्थानमा, काठमाडौं ६८७ स्थानमा
काठमाडौं। अक्सफोर्ड इकोनोमिक्सले सार्वजनिक गरेको सन् २०२६ को ग्लोबल सिटी इन्डेक्समा अमेरिकाको न्युयोर्क विश्वकै उत्कृष्ट सहरका रूपमा शीर्ष स्थानमा परेको छ। विश्वका १ हजार ठूला सहरलाई विभिन्न सूचकका आधारमा मूल्यांकन गर्दै तयार पारिएको सूचीमा न्युयोर्क पहिलो स्थानमा परेको हो।
सूचकांकमा सहरहरूको मूल्यांकन अर्थतन्त्र, मानवीय क्षमता, जीवनस्तर, वातावरण र शासन गरी पाँच प्रमुख आधारमा गरिएको छ। यी पाँचै पक्षको समग्र प्रदर्शनका आधारमा न्युयोर्कले पहिलो स्थान हासिल गर्दा बेलायतको लन्डन दोस्रो र फ्रान्सको पेरिस तेस्रो स्थानमा रहेका छन्।
शीर्ष १० मा अमेरिकाका सहरहरूको प्रभावसमेत बलियो देखिएको छ। सूचीमा सियाटल चौथो, सान फ्रान्सिस्को पाँचौँ, आयरल्यान्डको डब्लिन छैटौँ, अमेरिकाको बोस्टन सातौँ, सान होजे आठौँ, जापानको टोकियो नवौँ र स्विट्जरल्यान्डको ज्युरिख दशौँ स्थानमा रहेका छन्।
नेपालको राजधानी काठमाडौँ भने समग्र सूचीमा ६८७ औँ स्थानमा परेको छ। विभिन्न सूचकलाई छुट्टाछुट्टै हेर्दा काठमाडौँको मानवीय क्षमताको स्थान तुलनात्मक रूपमा माथि रहेको देखिन्छ। काठमाडौँ मानवीय क्षमतामा ५६२ औँ, शासनमा ६३५ औँ, वातावरणमा ६३९ औँ, अर्थतन्त्रमा ६७० औँ र जीवनस्तरमा ८४० औँ स्थानमा रहेको छ।
काठमाडौँको समग्र स्थानमा सबैभन्दा कमजोर पक्ष जीवनस्तर देखिएको छ। जीवनस्तरसम्बन्धी सूचकमा काठमाडौँ ८४० औँ स्थानमा रहेको छ भने मानवीय क्षमतामा ५६२ औँ स्थानमा छ। त्यस्तै शासन र वातावरणमा क्रमशः ६३५ औँ र ६३९ औँ स्थान हासिल गरेको छ।
उप-सूचकअनुसार हेर्दा विभिन्न सहरले फरक–फरक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेका छन्। अस्ट्रेलियाको क्यानबेरा जीवनस्तरका लागि विश्वकै उत्कृष्ट सहर बनेको छ। जीवनस्तर सूचकमा पहिलो स्थानमा रहेको क्यानबेरा समग्र सूचीमा भने ४५ औँ स्थानमा रहेको छ।
अर्थतन्त्रतर्फ न्युयोर्क नै पहिलो स्थानमा छ। यस सूचकमा शीर्ष आठमध्ये सात सहर अमेरिकाका रहेका छन्। यसले विश्वका ठूला आर्थिक केन्द्रका रूपमा अमेरिकी सहरहरूको प्रभावलाई देखाएको छ।
मानवीय पुँजीको सूचकमा लन्डन पहिलो स्थानमा परेको छ। त्यस्तै वातावरणतर्फ अमेरिकाको होनोलुलु विश्वकै अग्रणी सहर बनेको छ। शासनको सूचकमा भने डेनमार्कको राजधानी कोपनहेगन पहिलो स्थानमा रहेको छ।
अक्सफोर्ड इकोनोमिक्सको ग्लोबल सिटी इन्डेक्सले विश्वका प्रमुख सहरहरूको आर्थिक तथा सामाजिक अवस्थासँगै मानव क्षमता, जीवनस्तर, वातावरण र शासन प्रणालीलाई समेत समेटेर सहरहरूको समग्र अवस्था मूल्यांकन गर्ने प्रयास गरेको छ। यस सूचकांकले विभिन्न सहरको विकास, अवसर र चुनौतीलाई तुलनात्मक रूपमा बुझ्न आधार प्रदान गर्ने बताइएको छ।
शीर्ष १० विश्वका सहरहरू
-
न्युयोर्क (अमेरिका) – १०० अंक
-
लन्डन (बेलायत) – ९८.८ अंक
-
पेरिस (फ्रान्स) – ९३.४ अंक
-
सियाटल (अमेरिका)
-
सान फ्रान्सिस्को (अमेरिका)
-
डब्लिन (आयरल्यान्ड)
-
बोस्टन (अमेरिका)
-
सान होजे (अमेरिका)
-
टोकियो (जापान)
-
ज्युरिख (स्विट्जरल्यान्ड)
No ads found for this position


डिसी नेपाल
Facebook Comment