हामी अहंकारमुक्त नेपाल चाहन्छौं : प्रभु साह

डिसी नेपाल
३ असोज २०८३ १७:३७

वीरगञ्ज। आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वालेन्द्र शाहको नेतृत्वमा दुई तिहाईको शक्तिशाली सरकार बन्दापनि व्यवहारमा सरकार शक्तिहीन लाचार बनेको टिप्पणी गरेका छन्। सरकार जनतासँगको सम्पर्क टुटाएर लिकभन्दा बाहिर गएको कारण अहिलेपनि देश अन्त्यहीन संकटमा रहेको साहको टिप्पणी छ।

आजपासम्मिलित ९ दलीय मोर्चाको मधेश प्रदेश समन्वय समितिद्धारा आज (शनिबार) मधेश प्रदेशको वीरगञ्जको टाउन हलमा आयोजित बृहत्त कार्यकर्ता भेला तथा अभिमुखीकरणलाई सम्बोधन गर्दै उनले सरकार विपक्षीहरूको कारण कमजोर देखिएको हैन, रास्वपाभित्रैबाट असहयोगको कारण लाचार देखिएको दाबी गरे। उनले संसद्मा रहेको संख्याको कारण वर्तमान सरकार शक्तिशाली देखिएपनि उसले लिएको नीति र गरिरहेको व्यवहारको कारण बिचारा अवस्थामा पुगेको टिप्पणी गरे। उनले प्रधानमन्त्री शाहलाई एम्बिशन पूरा गर्ने हो भने एक्शनमा उत्रिन सुझाव दिए।

प्रधानमन्त्री बनेलगत्तै बसेको पहिलो मन्त्रिपरिषद् बैठकमार्फत एक सय दिनमा एक सय वटा शासकीय सुधारको कार्यक्रम ल्याउँदा जनतामा प्रधानमन्त्री शाहप्रति उत्साह देखिएपनि अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम ल्याउँदा त्यो उत्साह घटेको र बजेट ल्याउँदासम्म सबै निराश हुने अवस्था आएको कुरा पनि पूर्वमन्त्री साहले स्मरण गराए। उनले अहिलेपनि समय घर्किनसकेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीलाई जंगी अड्डातिर नभएर जनताको भर पर्न सुझाव दिएका छन्। यस्तै, उनले प्रधानमन्त्रीलाई संख्या होईन सत्य, बल होईन विधि र सेना होईन संविधानको साथमा हिँड्न पनि सुझाए।

उनले मुलुकमा पछिल्लो समय देखापरेका धार्मिक सद्भाव विथोलिएको सुनसरी देवानगञ्जको घटनादेखि दुई साताअघि रसुवा भोटेकोशी बाढीको कारण निम्तिएको विपत्तिको संकटको समयसम्म रास्वपा नेतृत्वले प्रधानमन्त्रीलाई बाईपास गरेर सक्रियता देखाएको घट्नाको स्मरण गराउँदै सरकारलाई नसघाएको गम्भीर आरोप लगाए। विदेश सम्बन्ध र कुटनीतिक अभ्यासको सवालमा पनि रास्वपाका सभापति रवि लामिछाने एकातिर र प्रधानमन्त्री शाह अर्कोतर्फ उभिएको र सोहीअनुसार समानान्तर अभ्यास गरिएको साहको आरोप छ।

साहले रास्वपाका सभापति लामिछानेले समानान्तर सरकार चलाउन खोज्दा सरकारको कार्यसम्पादनमा असर परिरहेको कुरा सचेत नागरिकले गुनासो पोख्न थालेको पनि टिप्पणी गरे। उनले रास्वपाले भागबण्डाको राजनीति गरेको र नेतातन्त्रको अभ्यास गरेको कुरा पछिल्लो समय सरकारका मन्त्रीहरु र रास्वपाका नेताहरुबीच भएको छेडखानी र आरोपप्रत्यारोप’ सार्वजनिक भएको घट्नाले पनि पुष्टि गर्ने बताए।

सरकार सामान्य डेलिभरी दिन नसकेर आलोचित बन्ने अवस्था आउनु दुःखद् भएको उनको टिप्पणी छ। ग्याँसको अभावमा जनतको चुलो निभ्ने अवस्था आएको यति दिन बित्दापनि समस्या समाधान नभएको र सेवामा लाईन घट्नुको साटो बढ्नुले पनि सरकारको असफलता देखाईसकेको साहले जिकिर गरे।

उनले वर्तमान सरकार बनेपछिका नियुक्तिमा पनि सरकारले समावेशीताको सिद्धान्तलाई धज्जी उडाउँदै महिला, मधेशी, दलितहरुलाई उपेक्षा गरेको आरोप लगाए। ती नियुक्तिहरुमा कर्णाली र दलितको प्रतिनिधित्व शून्य बनाईएको भन्दै उनले सरकारलाई समावेशी प्रतिनिधित्वको मूल मर्मलाई ख्याल गर्न पनि सुझाए।

सो क्रममा उनले आफूहरु देशलाई दिशा दिनको लागि एक ठाउँमा उभिएको र संघर्षको सहयात्रा सुरु गरेको सुनाए। उनले आफूहरु सत्ताको कुनै खेलमा नलागी संघर्षको बाटोमा उभिएकोले राष्ट्रिय राजनीतिमा पनि सोहीअनुसार हस्तक्षेप गरिने नेता तथा कार्यकर्ताहरुलाई विश्वास दिलाए। उनले व्यवस्था बिकृत भएको कारण देशको अवस्थामा बदलाव नआएको र झनै संकट गहिरिँदै गएको दाबी गरे। अहिलेको राजनीतिक व्यवस्थामा सुधार नगरेसम्म देशले निकास नपाउने उनको दाबी छ।

उनले अहिले फेक शासनको कारण जनतामा एक किसिमको भय र त्रास देखिएको भन्दै मोर्चाले भय र त्रासको अवस्थालाई चिर्ने स्पष्ट पारे। उनले नयाँका नाममा आएकाहरुले अहंकारयुक्त नेपाल बनाउन चाहेको भएपनि आफूहरु अहंकारमुक्त नेपालको पक्षमा उभिएको बताए। उनले भने,“उनीहरू एकांकी र एकाधिकारपूर्ण राजनीति रुचाउँछन्, तर हामी सहअस्तित्व र सहकार्य चाहन्छौं। हामी उनीहरुजस्तो सिण्डिकेट होईन सोलिडारिटी चाहन्छौं। सर्वसत्तावाद होईन, सर्वस्विकार्य बहुलवाद हाम्रो चाहना हो।” साहले नयाँहरुले सामाजिक सञ्जालमात्र बुझेको तर आफूहरु समाज बुझेको नेता भएको पनि टिप्पणी गरे।

मोर्चामा आवद्ध नेताहरुले सरकारमा सहभागी भएर सेवा गर्ने अवसर पाउँदा छोटो समयमा पनि प्रभावकारी काम गरेर अमिट छाप छोडेको साहको दाबी छ। उनले भने,“अहिले यो मञ्चमा उभिएका हामी नेताहरुले सरकारमा बसेर काम गर्ने अवसर एकदमै छोटो समयको लागि पाएको छौं, तर पाएको अवसरको सही सदुपयोग गरेका छौं। चाहे उपेन्द्रजीले विदेश नीतिको सम्बन्धमा खेलेको भूमिका होस वा स्वास्थ्य मन्त्रालयको नेतृत्वमा हुँदा बनाएको मानक होस, वा जनार्दन शर्माले लोडसेडिङ अन्त्य गरेर लगाउनुभएको गुण नै किन नहोस, वा मैले जम्मा पाँच महिना सहरी विकास मन्त्रालयको नेतृत्व हुँदा इतिहासमै छाप छोड्ने गरी काम गरेको छु, आज मधेशका स्मार्ट सिटीको कुरा गर्नुहोस, वा ठूला ठूला सभाहलको कुरा होस, मैले अवसर पाउँदा सही सदुपयोग गरेको छु।”

फरक प्रसंगमा देशलाई दुख्दा मधेशको पनि मन दुख्ने गरेको र मधेशी जनता सधैं देशको दुःखमा साथै उभिने गरेको भन्दै भूकम्प, कोभिड महामारीदेखि हालैको रसुवाको भोटेकोशी बाढीको वितण्डाले निम्त्याएको महाविपत्ति र पीडाको घडीमा मधेशले साथ दिएर महानता देखाएको पनि साहले सुनाए। आफूहरु देश जोड्ने अभियानमा रहेको उल्लेख गर्दै उनले अग्रगामी मोर्चाले देशलाई एकताको सूत्रमा बाँध्ने विश्वास दिलाए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *