आन्तरिक विवादका बीच नेपाली कांग्रेसको १५औं महाधिवेशन प्रक्रिया सुरु, वडा अधिवेशन धमाधम
काठमाडाैं। नेपाली कांग्रेसभित्र शीर्ष तहमा देखिएको चरम विवाद र असन्तुष्टिका बीच आसन्न १५औँ महाधिवेशनको औपचारिक प्रक्रिया सुरु भएको छ। यही असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी पार्टीले शनिबारदेखि तल्लो तह अर्थात् वडा अधिवेशनको प्रक्रिया सुरु गरेको हो।
निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको चर्को असन्तुष्टि र बहिष्कारका बीच संस्थापन पक्षले महाधिवेशनको कार्यतालिकालाई अघि बढाएको छ।
शनिबारबाट सुरु भएको वडा अधिवेशन प्रक्रियामा देउवा पक्षका नेता तथा कार्यकर्ताहरू सहभागी भएका छैनन्। देउवा समूहले यसअघि नै असोज १५ गतेबाट मात्र महाधिवेशन प्रक्रिया सुरु गर्ने गरी छुट्टै अडान र कार्यतालिका सार्वजनिक गरिसकेको थियो।
विवादका बीच पार्टी सभापति गगनकुमार थापाले काठमाडौं वडा नम्बर ३० स्थित आफ्नो क्रियाशील सदस्यता रहेको वडाबाट अधिवेशनको औपचारिक उद्घाटन गरे। उद्घाटन कार्यक्रमसँगै उनले सोही वडाबाट आफ्नो मनोनयन दर्ता समेत गराएका छन्।
कांग्रेस निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार गत पुस मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण गराएका सम्पूर्ण क्रियाशील सदस्यहरूले वडा अधिवेशनमा भाग लिन पाउने व्यवस्था गरिएको छ। पार्टीको वैधानिक व्यवस्था अनुसार सम्बन्धित वडा भित्रका क्रियाशील सदस्यहरू स्वतः वडा अधिवेशनका सदस्य हुनेछन्।
जारी वडा अधिवेशनले वडा सभापति, एक महिलासहित दोस्रो वरीयताका दुई जना उपसभापति, एक सचिव, एक सहसचिव र आवश्यक वडा सदस्यहरू निर्वाचित गर्नेछ। कांग्रेस विधानअनुसार गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका अन्तर्गतका वडाबाट निर्वाचित हुने वडा सभापतिले निर्वाचित कार्यसमितिबाटै एक जना कोषाध्यक्ष मनोनीत गर्ने प्रावधान छ।
स्थानीय तहको संरचना अनुसार वडा कार्यसमिति र सदस्यहरूको सङ्ख्या फरक-फरक तोकिएको छ। गाउँपालिकाको वडा अधिवेशनबाट कम्तीमा दुई महिला, एक दलित र ३० वर्षमुनिका एक युवासहित सात जना वडा सदस्यमा निर्वाचित हुनेछन्।
नगर तथा उपमहानगरपालिकाको वडा अधिवेशनबाट दुई महिला, एक दलित र ३० वर्षमुनिका दोस्रो युवा गरी आठ जनालाई वडा सदस्यका रूपमा निर्वाचित गर्नुपर्ने हुन्छ। महानगरपालिकाको हकमा भने कम्तीमा तीन महिला, एक दलित र ३० वर्षमुनिका तीन युवासहित ११ जना वडा सदस्य प्रत्यक्ष निर्वाचित हुने व्यवस्था रहेको निर्वाचन समितिले जनाएको छ।
यसैगरी, वडा सभापतिले सदस्य मनोनीत गर्ने अधिकार पनि तहअनुसार फरक छ। गाउँपालिका वडा सभापतिले पाँच, नगर तथा उपमहानगरपालिका वडा सभापतिले छ र महानगरपालिका वडा सभापतिले सात जनासम्म वडा सदस्य मनोनीत गर्न पाउनेछन्। कांग्रेस विधान अनुसार एउटै व्यक्ति क्षेत्रीय अधिवेशन प्रतिनिधि र गाउँपालिका वडा कार्यसमितिमा एकैपटक बस्न सक्ने प्रावधानसमेत रहेको छ।
क्षेत्रीय प्रतिनिधिको चयन प्रक्रिया
वडा अधिवेशनले वडा कार्यसमितिका अलावा माथिल्लो निकायका लागि क्षेत्रीय अधिवेशन प्रतिनिधिहरूसमेत चयन गर्नेछ। सबै वडाबाट निश्चित र समान मापदण्डका आधारमा प्रतिनिधि छनोट हुने व्यवस्था मिलाइएको छ। १५० वा सोभन्दा कम क्रियाशील सदस्य भएको वडाबाट कम्तीमा तीन जना महिला, एक श्रमिक वा पेसागत क्षेत्रसहित नौ जना क्षेत्रीय प्रतिनिधि चयन हुनेछन्।
त्यस्तै, ३० वर्ष उमेर नपुगेका एक महिलासहित तीन जना युवालाई क्षेत्रीय प्रतिनिधिका रूपमा वडा अधिवेशनले अनिवार्य निर्वाचित गर्नुपर्नेछ।
१५० भन्दा बढी क्रियाशील सदस्य भएका वडाहरूमा भने अधिकतम ५५ जनाको सीमाभित्र रहेर प्रति १५० थप सदस्य बराबर दुई महिला र एक युवासहित छ जना थप प्रतिनिधि निर्वाचित हुने प्रावधान छ। महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारू, मुस्लिम, अल्पसङ्ख्याक तथा पिछडिएको क्षेत्रबाट ५५ प्रतिशत समावेशी सिद्धान्त र जनसाङ्ख्यिक बनोटका आधारमा प्रतिनिधि चयन गरिनेछ।
बाढी प्रभावित जिल्लामा पनि अधिवेशन
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र पहिरोका कारण प्रभावित बनेका जिल्लाहरूमा पनि कांग्रेसले अधिवेशन रोकेको छैन। बाढीबाट प्रभावित धादिङ, नुवाकोट र रसुवामा समन्वय गरेरै अधिवेशन अघि बढाइएको हो।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार धादिङमा सोमबार वडा अधिवेशन हुँदै छ भने नुवाकोट र रसुवामा असोज ७ गतेका लागि अधिवेशन तय गरिएको छ।
देउवालाई प्रमुख अतिथि बनाउने प्रयास
काठमाडौंमा अधिवेशन उद्घाटन गर्दै सभापति गगनकुमार थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई असोज १६ को केन्द्रीय महाधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी गराउने प्रयास भइरहेको बताए।
पार्टीभित्रको आन्तरिक असमझदारीलाई बिर्सिएर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले भने, “पार्टी एक घर-परिवार जस्तै हो, जहाँ मतभेद हुनु स्वाभाविक हो। हिजो कसले के बोल्यो भन्ने कुरा बिर्सिएर सबै एकजुट हुनुपर्छ।”
यसैबीच, निवर्तमान सभापति देउवाको गृहजिल्ला डडेल्धुरामा आइतबार बिहान ९ बजेदेखि वडा अधिवेशन तय गरिए पनि स्थानीय स्तरमा विवाद कायमै छ। डडेल्धुराका पूर्वसभापति कर्णबहादुर मल्लले विज्ञप्ति जारी गर्दै पार्टी विभाजनको खतरा बढेको भन्दै अधिवेशन तत्काल स्थगित गरी सहमति खोज्न आग्रह गरेका छन्।
तर, केन्द्रीय कार्यतालिका अनुसार असोज ७ मा पालिका, १० मा क्षेत्रीय र असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने गरी प्रक्रिया अगाडि बढिसकेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment