ओलीको बचाउमा ज्ञवालीको तेस्रो प्रतिवेदन: एमाले पुनर्गठन कार्यदलभित्रै तीनतिर फर्किए तीन प्रतिवेदन

डिसी नेपाल
४ असोज २०८३ ७:४०

काठमाडौं।  नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा पार्टीको पुनर्गठन कार्यदल र सचिवालयको बैठक आज बस्दै छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ९ बजे पुनर्गठन कार्यदलको र दिउँसो १ बजे सचिवालयको बैठक आह्वान गरिएको छ।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार असोज ७ गतेसम्म ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा चल्ने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने निर्वाचन समीक्षा, पार्टी पुनर्गठन तथा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनबारे अन्तिम निष्कर्ष निकाल्न यी बैठकहरू बस्न लागेका हुन्।

गत जेठ १० गते उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठित १५ सदस्यीय ‘पार्टी शुद्धीकरण, सुदृढीकरण तथा पुनर्गठन कार्यदल’भित्रै प्रतिवेदनलाई लिएर गम्भीर विवाद उत्पन्न भएको छ। यसअघि कार्यदलमा दुई फरक-फरक प्रतिवेदन पेस भएपछि सर्वसम्मत प्रतिवेदन तयार पार्ने प्रयास स्वरूप आजको बैठक डाकिएको हो।

कार्यादलका सदस्यसचिव एवं महासचिव शंकर पोखरेलले तयार पारेको ६५ पृष्ठ लामो प्रतिवेदनमा पछिल्लो विधान अधिवेशनबाट हटाइएको ‘७० वर्षे उमेर हद’ र ‘एउटै कार्यकारी पदमा बढीमा दुई कार्यकाल’को व्यवस्थालाई पुनः लागू गर्नुपर्ने प्रस्ताव गरिएको छ। प्रतिवेदनमा नेतृत्व परिवर्तन र रूपान्तरणको आवश्यकता औँल्याइएको छ।

तर, कार्यदल संयोजक बादलले भने ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउने पूर्ववत् निर्णयको बचाउ गर्दै ओलीको विकल्प रोज्न नहुने निष्कर्षसहितको काउन्टर प्रतिवेदन ल्याएका थिए।

दुईवटा फरक प्रतिवेदन आएपछि अध्यक्ष ओलीले सुरुमा महासचिव पोखरेल र पछि उपाध्यक्ष विष्णु पौडेललाई एकीकृत प्रतिवेदन लेख्न आग्रह गरेका थिए। दुवै नेताले अस्वीकार गरेपछि ओलीले कार्यदलका सदस्य नै नरहेका पूर्वउपमहासचिव एवं केन्द्रीय सदस्य प्रदीप ज्ञवालीलाई प्रतिवेदन लेखनको जिम्मा दिएका छन्।

ज्ञवालीले अध्यक्ष ओलीको बचाउ र प्रशंसा गर्दै अर्को प्रतिवेदन तयार पारेका छन्। ज्ञवालीको प्रतिवेदनमा ओलीको नेतृत्वमा संविधान निर्माण, भारतीय नाकाबन्दीको सामना, चीनसँगको व्यापार पारवहन सम्झौता, भूकम्पपछिको पुनर्निर्माण र कोभिड महामारी व्यवस्थापनमा ऐतिहासिक सफलता मिलेको दाबी गरिएको छ।

उनले वर्तमान परिप्रेक्ष्यमा नेतृत्व परिवर्तनको मागलाई असान्दर्भिक भन्दै भदौ २३ र २४ को घटनाक्रमलाई नवयुवाहरूको ‘राजनीतिक विद्रोह’का रूपमा नभई ‘षड्यन्त्र’का रूपमा स्थापित गर्न नसक्दा निर्वाचनमा पराजय भोग्नुपरेको उल्लेख गरेका छन्।

आज बस्ने कार्यदल र सचिवालय बैठकले प्रतिवेदनका यी विवादित विषयहरूमा कस्तो सहमति वा निर्णय गर्छ भन्नेमा एमाले वृत्तमा चासोका साथ हेरिएको छ। भोलिदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले नै मुख्य प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *